


राष्ट्रघाती प्रोजेक्ट एमसीसी पास गर्न संसदबाट चलखेल हुँदैछ : प्रकाण्ड

काठमाडौं – नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई राष्ट्रघाती प्रोजेक्ट भन्दै उक्त प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलनमा नेकपाका नेता खड्गबहादुर विश्वकर्माले सो कुरा बताउँदै एमसीसी सम्झौता अघि नबढाउन ध्यानाकर्षण गराउने उदेश्यले पहिलो चरणको आन्दोलन घोषणा गरिएको जानकारी दिए । सो समुहले एमसीसीका नाममा राष्ट्रियतामाथि हमला भइरहेको भइरहेको निष्कर्ष निकालेको छ ।
सबै नेपाली नागरिकहरु यसविरुद्ध आन्दोलित भइरहेको बेलामा पनि दलालहरुले यसलाई पास गर्नुपर्ने भनिरहेको बताए । प्रवक्ता प्रकाण्डले विभिन्न प्रपञ्च रचेर सरकारले एमसीसी पास गर्न लागेको भन्दै यो सम्झौता नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टीलाई स्वीकार्य नहुने बताए ।
‘अहिले फेरि एकपटक हाम्रो राष्ट्रियतामाथि एउटा ठूलो हमला भइरहेको छ, एमसीसीको मुद्दा मुखरित भएर, आजको तीन, चार वर्ष अगाडि यसलाई सम्पन्न गर्ने उद्देश्यका साथ अमेरिकी शासक वर्गले ल्याएको प्रोजेक्ट हो यो, त्यो बेला प्रधानमन्त्री शेरबहादुर देउवाकै सरकार थियो, अर्थमन्त्रीमा हालका कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्थ्यो’ प्रवक्ता प्रकाण्डले भने, ‘नेपाली जनताले अहिलेसम्म त्यसको बिरोध गरिरहेका छन्, तर पनि एमसीसी पास गर्न सरकारले विभिन्न प्रपञ्च रचिरहेको छ, यदी पास भएमा हाम्रो नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनतालाई स्वीकार्य हुँदैन ।’
सरकारले संसद बोलाएर एमसीसी तत्काल पास गर्ने योजना बनाइरहेकोले आफ्नो पार्टीले राष्ट्रिय र केन्द्रिकृत रुपमा नेतृत्व प्रदान गर्न एक हप्ते संघर्षको कार्यक्रम राखेको बताएँदै प्रवक्ता प्रकाण्डले भाद्र २८ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने बताए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै आन्तरिक शंकटबाट ग्रस्त भएपछि बनेको र यसको आयु ६ महिना वा एक वर्षको हो भन्ने कुनै ठेगान नरहेको बताए । उनले सरकारले राष्ट्रघाती एमसीसी पास गरेर कुनै मुर्खता नगरोस् भन्ने चाहेको बताए । देउवा सरकारले हाउसमा पेश गर्ने एमसीसी भन्ने योजना फिर्ता लिनुपर्ने बताए ।
उनले आगामी २८ गते काठमाडौंमा वृहत प्रदर्शन हुँने भन्दै एमसीसी पास नगर्न सरकारलाई चेतावनी समेत दिएका छन् ।

