कांग्रेस महाधिवेशनमा यस्तो छ कृष्ण सिटौलाको प्रारम्भिर टिम, कस्तो धक्का देलान्?


काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन निक्कै रोचक प्रतिस्पर्धापूर्ण हुने देखिएको छ। महामन्त्रीका लागि तीन जना तेस्रो पुस्ताका युवा नेताले घोषणा गरिसकेका छन् भने सभापतिका उम्मेदवार पनि निक्कै नै छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला सभापतिमा उम्मेदवारी घोषणा गर्ने नेता हुन्। यी मध्ये देउवा र निधि स्पष्ट रुपमा सभापतिको मैदानमा उत्रिने तय भइसकेको छ। तेस्रो पुस्ताबाट कल्याण गुरुङले सभापतिको घोषणा गरिसकेका छन्।

१३ औं महाधिवेशनमा सभापतिमा लडेका पूर्वमहामन्त्री कृष्ण सिटौलाले घोषणा नगरे पनि सभापतिका लागि आन्तरिक तयारी गरेका छन्। उनको प्रारम्भिक टिमको खाका नै तयार भएको छ। सिटौला सभापति र प्रदिप पौडेल महामन्त्रीमा उठ्दैछन्।

यसबाहेक गगन थापा र विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा लड्ने घोषणा गरिसकेका छन्। शर्मा सभापति देउवा र थापा कोइराला खेमाबाट महामन्त्रीको मैदानमा उत्रिने आँकलन गरिएको छ। यद्यपि, कुन टिमबाट भन्नेचाहिँ उनीहरुले स्पष्ट घोषणा गरिसकेका छैनन्।

तत्कालिन महाधिवेशनमा सिटौलाका कारण नै दोस्रो राउन्डमा मात्र सभापतिमा देउवाको बिजय निश्चित भएको थियो। तर, सिटौला यस पटक देउवालाई सघाउने पक्षमा छैनन्। अघिल्लो महाधिवेशनमा धक्का दिएका सिटौलाको यस पटकको पोजिशनले कस्तो असर गर्ला?

एक जना कांग्रेस केन्द्रीय सदस्य भन्छन्,‘सिटौला यस पटकका निर्णायक होइनन्। कोइराला परिवार र विमलेन्द्र निधिको भूमिकाले आगामी नेतृत्व को आउँछन् भन्ने स्पष्ट हुनेछ।’

सिटौलाको समूहले थोरै मात्र धक्का दिए पनि १३ औं महाधिवेशनको जस्तो निर्णायक नहुने धेरैले आँकलन गरेका छन्। सभापतिमा यस पटक अनेक नेताहरू मैदानमा रहेका कारण मत विभाजन हुने स्पष्ट देखिएको छ। ‘संगठनात्मक हिसाबमा देउवा बलियो देखिनेछन्। उनीसँग सत्ताको पनि बल रहेका कारण धेरै हच्किएका छन्’, उच्च स्रोतले भन्यो।

महाधिवेशनको सत्ताको छायाँ पर्न सक्ने भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताले देउवालाई प्रहरी प्रशासनको प्रयोग नगर्नका लागि अपिल गर्नु त्यसको कारण रहेको बताइन्छ।

प्रतिक्रिया