जब उनले साँढे २ महिनामा कोरोनाकाे तीनथरीका पाँच डोज खोपाए
काठमाडौं – विश्वव्यापी फैलिएकाे कोरोना महामारीबाट जाेगिन विभिन्न अाैषधी कम्पनीले खाेप उत्पादन र वितरण गरिरहेका छन् । तर छाेटाे अवधिमा विश्वभर फैलिएकाे भाइरसविरुद्ध खोप धेरैले पाइरहेका छैनन् ।
खोपको उपलब्धता भएका देशमा पनि कोही खोप लगाउन अनिच्छुक समेत छन् । तर ब्राजिलका एक व्यक्तिले भने १० हप्ताको अन्तरालमा तीनथरी खोपका पाँच डोज लगाइसकेका छन् ।
ब्राजिलको शहर रियो दे जेनेइरोका अधिकारीले एक स्थानीय व्यक्तिले यति कम समयमा पाँच डोज भ्याक्सिन कसरी लगाउन सफल भए भनेर अनुसन्धान थालेका छन् । आधिकारिक रेकर्डका अनुसार नाम नखुलाइएका एक व्यक्तिले मे महिनादेखि कोभिड–१९ भ्याक्सिन लगाउन सुरु गरे । थप अर्को खोप लगाउन गएका बेला उनलाई खोप केन्द्रका एक कर्मचारीले चिनेपछि उनको ‘भ्याक्सिनेसन म्याराथन’ बारे पत्ता लागेको हो ।
ब्राजिलियन मिडियाले प्राप्त गरेको रेकर्डका अनुसार ती व्यक्तिले पहिलो पटक मे १२ मा फाइजरको खोप लगाएका थिए । जुन ५ मा एस्ट्राजेनेकाको दोस्रो डोज लगाएका उनले जुन १७ मा कोरोनाभ्याकको दोस्रो डोज लगाएका थिए । साथै, उनले फाइजरको दोस्रो डोज जुलाई ९ मा लगाएका थिए भने २१ जुलाईमा कोरोनाभ्याकको पहिलो डोज हानेका थिए । छैटौं डोज उनले के को हान्न लागेका थिए भनेर स्पष्ट जानकारी प्राप्त छैन ।
अडिटीसेन्ट्रल अनुसार सुरुमा ती व्यक्तिको भ्रमित पारिदिने कोभिड–१९ भ्याक्सिनेसन रेकर्ड अनलाइनमा हुने गल्ती हो कि ठानिएको थियो तर ग्लोबोका अनुसार रियोको महानगरीय स्वास्थ्य विभागले गरेको अनुसन्धानले यो रजिस्ट्रेशनसम्बन्धि समस्या नभएको स्पष्ट पारेको छ । ती व्यक्तिले दोस्रो डोज लगाउनु अघि पहिलो डोज लगाएका थिए थिएनन् भन्ने पनि जानकारीमा उल्लेख छैन ।
उनले खोप केन्द्रमा भएका व्यक्तिलाई जे भनिदिए, उनीहरुले त्यसैलाई आधार माने । ‘ती व्यक्तिले लगाएको खोपको विवरण सिस्टममा अपडेट गर्न नसक्दा यस्तो भएको हो वा यसमा अन्य पनि कारण छन् किभनेर अनुसन्धान भइरहेको छ,’ रियो महानगरीय स्वास्थ्य विभागले एक वक्तव्यमा भनेको छ ।
यो खबर यस्तो समयमा प्रकाशित भएको हो जब ब्राजिल खोपको चरम अभावसँग जुधिरहेको छ । यहाँका लाखौं मानिस खोपको पहिलो डोज नै कुरेर बसेका छन् । केही व्यक्तिले खोपको तेस्रो डोज लगाएको खबर ब्राजिलका मिडियाले यदाकदा प्रकाशित त गरेका थिए तर पाँच डोज भ्याक्सिन लगाएको यो घटना पहिलो हो । ६ डोज लगाएका व्यक्तिको स्वास्थ्य स्थिति कस्तो होला भनेर जान्न मन लागेको भए, उनी सामान्य स्थितिमा भएको बताइन्छ । एजेन्सी