

काठमाडौं महानगरको कार्यालयमा वडाध्यक्षले गरे तोडफोड, मुचुल्का उठाउन मेयरको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाको कार्यालयमा वडाध्यक्षले नै तोडफोड गरेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा वडा नम्बर ५का वडाध्यक्ष रमेश डंगोलले इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै तोडफोड गरेका हुन् ।
उनले तीन जना नै अधिकारीहरुको कार्यकक्षको ढोकामा लत्ताले हानेका थिए । महानगरका एक अधिकारीका अनुसार आल्मुनियमको ढोका भएकाले सबै ढोकाको कब्जा फुस्किएको छ भने क्षति पनि पुगेको छ । वडाध्यक्ष डंगोलले आफूले महानगरको कार्यालयमा तोडफोड गरेको स्वीकार गरेका छन् ।
मेयर विद्यासुन्दर शाक्यले घटनापछि घटनास्थलको मुचुल्का उठाउन निर्देशन दिएका छन् । तोडफोडबाट भएको क्षति वडाध्यक्ष डंगोलबाटै भराउने मेयर शाक्यको तयारी छ ।

