साताको अन्तिम दिन सेयर बजारमा सामान्य गिरावट
काठमाडाैं – आज साताको अन्तिम कारोबार दिन विहीबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ ।
कारोबार सुरु भएलगत्तै उकालो लाग्न थालेको बजार त्यसपछि भने निरन्तर घटबढ गरेको हो । २८ सय ८० अंकबाट कारोबार सुरु भएको ३० मिनेटको अवधिमा सेयर बजार परिसूचक २९ सय १२ अंकसम्म पुगेको थियो ।
तर, त्यसपछि निरन्तरको गिरावटसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ०.६२ अंकको गिरावट आएको हो । उक्त गिरावटसँगै नेप्से परिसूचक २८ सय ७५ अंकमा रोकिएको छ । यसक्रममा आज ७ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज १ करोड ४४ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
नेप्सेमा सामान्य गिरावट आएपनि ४ वटा समूहमा भने सुधार आएको छ । आज व्यापार समूह ०.६ अंक, जलविद्युत ६२.७५ अंक, जीवन बीमा ५९.३८ अंक र लगानी समूहमा ०.१७ अंकको सुधार आएको हो । यस बाहेकका अन्य समूहमा भने गिरावट आएको छ ।
वित्त समूहमा सबैभन्दा बढी ३६ अंकको गिरावट आएको छ । यसपछि अन्य समूहमा २२ र उत्पादनमूलक समूहमा २१ अंकको गिरावट आएको छ । यस्तै, आज बैंक, होटल एण्ड टुरिजम, विकास बैंक, निर्जीवन बीमा समूह र लघुवित्त समूहमा समेत गिरावट आएको छ ।
परिसूचक घटे पनि हिमालयन पावर पार्टनरको सेयर मूल्यमा १० प्रतिशतको सुधार आएको छ । यस्तै, सानिमा लाइफ इन्स्योरेन्स र रैराङ हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्यमा ९ प्रतिशतको सुधार आएको छ ।