

काँग्रेस केन्द्रीय कार्यालयमा नेपाल मुस्लिम संघको धर्ना

काठमाडौं – नेपाली काँग्रेसमा आबद्ध नेपाल मुस्लिम संघले पार्टीको आगामी महाधिवेशनमा आफ्ना समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिन सुरु गरेको छ ।
संघका सभापति अब्दुल सत्तार नेतृत्वको टोलीले आगामी महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधि सुनिश्चित गर्न पार्टी नेतृत्वलाई दबाब दिँदै केन्द्रीय कार्यालयमा धर्ना दिन सुरु गरेको हो ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आफूहरूलाई प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन निर्देशिका सच्याउन पार्टी नेतृत्वलाई दबाब दिन आफूहरूले धर्नालगायतका दबाब आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको उनीहरूले बताए ।
संघले पार्टीको सबै निकायमा सबै समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने पार्टीको विधान अनुसार महाधिवेशन प्रतिनिधि चयन हुने गरी निर्वाचन निर्देशिक सच्याउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी मंसीर ९-१३ गतेसम्म काठमाडौँ हुने कार्यक्रम तय गरिएको छ । त्यसका लागि प्रतिनिधि चयनमा आफूहरूको प्रतिनिधित्व सुनिश्चित गराउन मुस्लिम संघले पनि पार्टी नेतृत्वलाई दबाब दिन सुरु गरेको हो ।

