

होटल रेस्टुरेन्ट आर्थिक मारमा, छैन कोरोना राजश्व उठाउने ठाउँमा? (भिडिओ सहित)

काठमाडौं– गृह मन्त्रालयले कोभिड–१९को महामारी भन्दै होटल, रेष्टुरेन्ट र फिल्म हलहरू अझैसम्म खुल्न दिएको छैन। जहाँ सामाजिक सुरक्षा जारी गरेर पनि सञ्चालन गर्न सकिने अवस्था छ। केही रेष्टुरेन्टलाई खुला गर्नका लागि ९ बजेसम्मको समयसीमा मात्र दिइएको छ। त्यसबाहेक डिस्को, डान्स र बारहरू भने बन्द रहेका छन्।
खासगरी महँगा भाडा तिरेका दरबारमार्ग, ठमेललगायतका क्षेत्रमा रहेका रेष्टुरेन्ट, लाउन्ज र बार मारमा परेका छन्। त्यसलाई व्यवस्थितसाथ पूर्ववत अवस्थाको जस्तै सञ्चालनको अनुमति गृह मन्त्रालयले दिएको छैन। जसका कारण प्रहरी नौ बजे नै त्यस्ता स्थानमा पुगी बन्द गराउनका लागि उर्दी जारी गर्छन्।
तर कर उठाउने यातायात व्यवस्था कार्यालयलगायतका विभिन्न सरकारी कार्यालयमा भने थामिनसक्नु भिँड देृखिने गरेको छ। न स्वास्थ्य सुरक्षा, न सामाजिक दूरीको पालना भएको पाइएको छ। ‘अहिले व्यापारी व्यावसायी मारमा छन्। होटल रेस्टुरेन्ट र फिल्म हलहरू बन्द अवस्थामा छन्। सरकारले यता ध्यान दिएको छैन’, एक व्यावसायी भन्छन्,‘सरकारी कार्यालयमा भने थामिनसक्नु भिडभाडमा सरकारको चासो देखिँदैन। यसरी त हामी मर्कामा पारिएका छौं।’
हेर्नुहोस् यातायात कार्यालयको यो भिडभाडको दृश्य
दरबारमार्ग, ठमेललगायतका ठाउँमा मासिक २० लाखसम्मको भाडा तिरेर खोलिएका लाउन्जलगायतका प्रतिष्ठानलाई भने अनुमति पाएको समयसीमासम्म चलाउनका लागि पनि रोक लगाइएको छ। ति व्यावसायी भन्छन्,‘हाम्रो पीडालाई नबुझ्ने तर सरकारी कार्यालयमा यस्तो भिडभाड हुने? कोरोनाले राती र दिउँसो भन्छ र?’
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहका अनुसार मारमा परेका व्यावसायीक प्रतिष्ठानलाई उनीहरूको समयसीमाको अधिकारसम्म चल्न दिने विषयमा कुराकानी भइरहेको बताए। उनले गृह मन्त्रालयले यसमा आवश्यक आदेश दिएको खण्डमा सञ्चालनको व्यवस्था गरिने जानकारी दिए।

