पाटन दरबार क्षेत्रस्थित ‘पाटन सङ्ग्रहालय’ भोलिदेखि खुल्ने


काठमाडाैं – काेराेना महामारीका कारण बन्द रहेकाे ललितपुर महानगरपालिकाको पाटन दरबार क्षेत्र रहेको ‘पाटन सङ्ग्रहालय’ भोलिदेखि खुला गरिने भएको छ । महानगरले भोलिदेखि सङ्ग्रहालयलगायत दरबार क्षेत्रका अन्य पर्यटकीय स्थलसमेत खुलाइने जनाएकाे छ ।

निषेधाज्ञासँगै गएको वैशाख १६ गतेदेखि सङ्ग्रहालय बन्द गरिएको थियो । कोभिड-१९ महामारी अघि दैनिक झण्डै चारदेखि पाँच सय आगन्तुकले सङ्ग्रहालय भ्रमण गर्ने गरेको थिए । दरबार क्षेत्र खुलाउने कुरा अघि बढेसँगै आफूहरू तयारी अवस्थामा रहेको पाटन दरबार सङ्ग्रहालयले जनाएकाे छ ।

सङ्ग्रहालय नखुल्दा पनि दरबार स्क्वायर क्षेत्र भने सधैँजसो हरेक उमेर समूहका मानिसले भरि भराउ हुने गरेको देखिन्छ । दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले समेत ३५ औँ कला नगरि घोषणा गरिसकेको छ ।

यो क्षेत्रमा देशकै शिखर शैलीमा ढुङ्गैढुङ्गाबाट बनेको २१ गजुर भएको कृष्ण मन्दिर अनि भीमसेन मन्दिर तथा चारनारायण मन्दिर र नरसिंह मन्दिर रहनाका साथै अशोक स्तम्भ र हिरण्यवर्ण महाविहार आदिसमेत रहेका छन्।

पाटनमा सबैभन्दा लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कार्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि पनि मनाइन्छ ।

पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीहरूको पुरानो थलो पनि हो । पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका सामग्री निर्माण हुन्छ । काठमाण्डौ उपत्यकाका तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो सहरका रूपमा परिचित छ ।

प्रतिक्रिया