कांग्रेसमा तेस्रो पुस्ताले गियर बदल्यो, यी हुन् महामन्त्री पदका तीन लडाकु

नेपाल विद्यार्थी संघ हाँकेका गुरुङले पार्टी सभापतिमा दाबेदारी प्रस्तुत गरेका छन्


काठमाडौं– नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि तेस्रो पुस्ताले नेतृत्वमा दाबी गर्न थालेको छ। पुराना पुस्ताका नेतालाई हस्तक्षेप गर्दै आगामी नेतृत्वका लागि तेस्रो पुस्ताले गियर बढाएको हो।

प्रभावशाली युवा नेताले महामन्त्रीमा दाबी गरेका छन् भने केहीले सभापतिका लागि पनि दाबेदारी प्रस्तुत गरेका छन्। सभापतिका लागि भने युवा नेता कल्याण गुरुङको घोषणा आइसकेको छ। गुरुङले नेपाल विद्यार्थी संघको नेतृत्व गरिसकेका छन्।

नेतृत्वमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्ण सिटौला र केन्द्रीय सदस्य शेखर कोइरालालगायतले दाबेदारी प्रस्तुत गरिरहेका बेला विद्यार्थी राजनीतिमा अब्बल देखिएका विश्वप्रकाश शर्मा, गगन थापा र प्रदिप पौडेलले महामन्त्रीमा भिँड्ने घोषणा गरिसकेका छन्।

कांग्रेस नेतृत्वमा पुस्तान्तरणको बहस बलियोगरी चलाएका थापाले कसैले प्यानलमा नराखे पनि महामन्त्रीमा लड्ने घोषणा गरेका छन्। तर, उनलाई सभापतिका उम्मेदवार शेखर कोइरालाले प्यानलमा राख्न चाहेका छन्। यसअघि उनी नेता कृष्ण सिटौलाको प्यानलमा १३ औं महाधिवेशनमा पनि महामन्त्रीमा उठेका थिए।

यता प्रवक्ता रहेका शर्मालाई भने सभापति देउवाले महामन्त्री पदका लागि प्यानलमा राख्ने तयारी भएको छ। पार्टीमा अन्य समीकरण नमिले पनि महामन्त्रीमा शर्मालाई राखेर अगाडि बढ्ने तयारी देउवाले गरेका छन्।

यता पौडेल भने कृष्ण सिटौलाको प्यानलबाट महामन्त्रीमा भिँड्न लागेका हुन्। ‘अब पुस्ता हस्तान्तरणको प्रक्रियाका रुपमा पनि यो महाधिवेशन अगाडि बढ्यो भन्ने बुझ्नुपर्छ’, स्रोतले भन्यो,‘दोस्रो पुस्ताले नेतृत्व यस पटक नलिए १५ औं महाधिवेशनमा तेस्रो पुस्ता हावी हुनेछ।’

प्रतिक्रिया