पन्जसिरमा अपदस्थ उपराष्ट्रपति बसेको घरमा तालिबानको हेलिकोप्टर हमला


काबुल – अहिलेसम्म कब्जा गर्न नसकेको अफगानिस्तानको एउटा मात्र प्रान्त पन्जसिरमा पनि तालिबानले युद्ध जित्दै गएको खबर सार्वजनिक भएको छ । न्युज एजेन्सीहरूका अनुसार त्यहाँ तालिबानका लडाकुले आफ्ना विरोधी अहमद मसुद समूहका लडाकुलाई जित्दै गएका हुन् । तालिबानी लडाकुले विरोधी समूहका धेरै जना शीर्ष कमाण्डरलाई मारिसकेको दुवै पक्षले पुष्टि गरेका छन् ।

आइतबारको लडाइँमा पन्जसिरमा विरोधी समूहका प्रमुख कमाण्डर फहिम दश्तीसहित गुल हैदर खान, मुनिम अमिरी र जनरल वुदादलगात मारिएका हुन् । तालिबान यति बलियो हुँदै गएका छन् कि अहमद मसुदले युद्ध अन्त्यको प्रस्ताव राखिसकेका छन् । तर तालिबानले मानेका छैनन् । उनीहरू विरोधी समूहलाई युद्धद्वारा नै घुँडा टेकाउने मनसायमा देखिएका छन् ।

पन्जसिरका विरोधी लडाकुले युद्ध सुरु गरेकाले त्यसको रिस फेर्न उनीहरू लागेको न्युज एजेन्सीहरूले जनाएका छन् । यसैबीच त्यही पन्जसिर प्रान्तमा बसेर तालिबानविरुद्ध लडाइँ गरिरहेका अफगानिस्तानका अपदस्थ राष्ट्रपति अब्दुल्लाह सालेहविरुद्ध पनि तालिबानले हवाई आक्रमण गरेका छन् ।

बीबीसीका पत्रकार बिलाल सरवरीको दाबीअनुसार उपराष्ट्रपति सालेह बसेको घरमा तालिबानका लडाकुले हेलिकप्टरमार्फत हमला गरेका हुन्। तर उनी सुरक्षित स्थानमा भाग्न सफल भएको ती पत्रकारले बताएका छन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ गनी तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेकै दिन (गत अगस्ट १५) देश छाडेर भागे पनि उपराष्ट्रपति सालेह भने तालिबानले कब्जा गर्न नसकेको पन्जसिरमा गएर बसेका थिए र एकमुठी सास छउन्जेल तालिबानविरुद्ध लडिरहने प्रतिबद्धता जनाएका थिए ।

उनी बसेको घरमा पनि तालिबानले हेलिकप्टर हमला गरेको र सुरक्षित स्थानतर्फ गएको भनेर बीबीसीका पत्रकार सरवरीले बताए पनि घटनाको विस्तृत विवरण आइसकेको छैन । बीबीसी

प्रतिक्रिया