दोस्रो एकदिवसीय क्रिकेटः दक्षिण अफ्रिका विजयी


काठमाडौं – श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली दक्षिण अफ्रिका विजयी भएको छ । कोलम्बोमा शनिबार राति दक्षिण अफ्रिकाले श्रीलंकालाई डीएल मेथडमा ६७ रनले हराएको हो ।

दक्षिण अफ्रीकाले दिएको २ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका ३६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रनमा समेटियो । श्रीलंकाका चारिथ असालंकाले ७७ रनको अर्धशतकीय इनिङ्स खेले ।

चमिका करुनारत्नेले ३६ रन जोड्दा कप्तान डासुन शनकाले ३० रन जोडे । दक्षिण अफ्रीकाका ट्राबेज शाम्सीले ५ विकेट लिए । कागिसो राबडाले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ४७ ओभरमा ६ विकेट गुमाएर २ सय ८३ रन बनाएको थियो । तर, डीएलको आधारमा श्रीलंकाले नयाँ लक्ष्य पाएको थियो । दक्षिण अफ्रीकाका लागि जान्नेमान मालनले १ सय २१ रनको शतकीय इनिङ्स खेले ।

रिजा हेन्ड्रिक्सले ५१ रन जोड्दा हेन्रिच क्लासेनले ४३ रन बनाए । श्रीलंकाका दुश्मन्था चामिरा र चामिका करुनारत्नेले २/२ विकेट लिए । जितसँगै तीन खेलको सिरिज दक्षिण अफ्रिकाले १-१ को बराबरीमा ल्याएको छ ।

प्रतिक्रिया