काबुलमा गोली लागेर १७ जनाको मृत्यु, ४१ घाइते


काबुल – अफगानिस्तानमा गोली लागेर कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

राजधानी काबुलको एक आपतकालीन अस्पतालका अनुसार गए राति तालिवानले हावामा चलाएको गोली लागेर १७ जनाको मृत्यु भएको र थप ४१ जना घाइते भएका छन् ।

शुक्रबार राति करिब ९ बजे अफगानिस्तानको आकाशमा व्यापक रुपमा हावामा गोलाबारी भएको थियो । हावामा गोली चलाएर तालिवानले विजय उत्सव मनाएको हुनसक्ने आशंका गरिएको यहाँको समाचार संस्था तोलो न्युजलाई उदृत गर्दै अलजजिराले उल्लेख गरेको छ ।

उक्त फायरिङ किन गरिएको थियो भन्ने वास्तविक कारण भने अझैसम्म खुलिसकेको छैन । यस विषयमा तालिवानले पनि कुनै आधिकारीक प्रतिक्रिया दिएको छैन ।

विजय उत्सव मनाउनको लागि हावामा फायर गर्ने अफगानिस्तानको परम्परा मानिन्छ । गत अगस्ट ३१ मा अमेरिकाले पूर्ण रुपमा आफ्ना सेना फिर्ता गरेपछि पनि तालिवानले उत्सवका लागि गोलाबारी गरेको आधिकारिक रुपमा पुष्टि पनि गरेको थियो ।

पछि तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्विटरमार्फत मानिसहरुले हवाई फायर गर्नुभन्दा पनि भगवानलाई धन्यवाद दिनुपर्ने बताउँदै हवाई फायरमा प्रतिबन्ध लगाएको बताएका थिए । एजेन्सी

प्रतिक्रिया