मन्त्री नियुक्त गर्न हम्मे पर्ने ‘७६(५) प्रधानमन्त्री’


काठमाडौं– मन्त्रिपरिषद विस्तार गर्न हम्मे परेका कारण प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना सुरु भएको छ। सरकारका काम कारबाहीलाई गतिशील बनाउनका लागि मन्त्री नियुक्त गर्नुपर्ने भए पनि संविधानको धारा ७६(५)बाट नियुक्त प्रधानमन्त्री देउवा त्यसतर्फअ ग्रसर हुन सकेका छैनन्।

बरु, अमेरिकी लगानीको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कसरी पास गराउने भन्ने विषयमा केन्द्रित हुँदै प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध सुधारको गतिमा अघि बढेका छन्। ओली देउवासँग रुष्ट छन् भने अमेरिकाले एमसीसी पास गराउनका लागि दबाब दिइरहेको छ।

जसको प्रक्रिया देखाउनका निम्ति सरकारले यसबारेको डिटेल्स पठाउनका लागि अमेरिकालाई पत्राचार गरिसकेको छ। ‘अहिले सरकारका सम्बन्धित काम गर्नका निम्ति मन्त्रीहरुको नियुक्ति हुनुपर्ने हो तर देउवा अघि बढ्न सकेनन्’, कांग्रेसका नेता भन्छन्,‘अन्य गठबन्धन दलले सहयोग नगरे आफैं अघि बढी कांग्रेसकै मात्र भए पनि मन्त्री थप्नुपर्छ।’

कतिपय अधिकारीले लामो समयसम्म सम्बन्धित मन्त्रालयमा मन्त्री नहुँदा काम गर्न कठिनाई हुन सक्ने बताएका छन्। देउवाको मन्त्रिपरिषदमा अहिलेसम्म एक राज्यमन्त्री गरी ६ सदस्य मात्र छन्। बढीमा उनले १९ जना मन्त्री नियुक्त गर्नुपर्ने छ।

तर नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले नाम दिन नसक्दा देउवा मन्त्रिमण्डल विस्तारमा असक्षम साबित भइरहेका छन्। ‘स्थिरता र संविधानका लागि भनी गरिएको सरकार गठनको यो प्रक्रियालाई किन पूरा गर्न सकिरहेका छैनन्? त्यसको जवाफ त दिनुपर्छ नि’, स्रोतले भन्यो। देउवा प्रधानमन्त्री भएको दुई महिना हुन लागेको छ।

प्रतिक्रिया