

एक तोला सुनमा मिलापत्र भएको बलात्कार काण्ड बाहिरियो, रोजगार संयोजक र शिक्षण सहायक पनि पक्राउ

बैतडी– बैतडीकी १८ वर्षीया किशोरी बलात्कार प्रकरणमा सिगास गाउँपालिकाका रोजगार संयोजक राजेन्द्र धामी, सिगास क्याम्पस गाजरीमा अध्यापन गर्ने शिक्षण सहायक नरेन्द्र धामी र स्थानीय गोपाल धामी पक्राउ परेका छन्।
उनीहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरीले जनाएको छ। योसँगै किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेका छन् । सिगास–३ का वडा अध्यक्षसहित स्थानीय मनोज धामी र अमर धामी यसअघि नै पक्राउ परिसकेका छन् ।
उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बलात्कार घटनाका मुख्य आरोपित सिगास–३ का दीपकसिंह धामी भने फरार छन् । उनी पहिला नै भारत भागीसकेको प्रहरीले जनाएको छ । सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको थियो।
उक्त घटनामा १ तोला सुन दिने भन्दै कपाली तमसुक बनाउन सहयोग गर्ने र पीडितले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको हो।
तमसुकमा पीडित पक्षलाई कात्तिक मसान्तभित्र एकतोला सुन दिने भनिएको थियो । पीडित पक्षलाई सुन नदिएपछि बलात्कारको घटना बाहिर आएको हो । घटना बाहिर आएपछि प्रहरीले गम्भीरताका साथ अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।

