

दार्चुला घटनाबारे भारतको प्रतिक्रिया- एसएसबीको संलग्नता छ भन्ने विषय आरोप मात्र

काठमाडौं – दार्चुला घटनाको बारेमा स्थलगत अध्ययन सकेर नेपालले तयार पारेको प्रतिवेदनलाई भारतले नेपालको आन्तरिक प्रतिवेदन भनेको छ ।
भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले यस घटनाका सम्बन्धमा मिडिया रिपोर्ट देखेको र आधिकारिक रुपमा आफूसँग कुनै पनि जानकारी नभएको बताउँदै त्यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । उनले भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र भएको उल्लेख गरे ।
दार्चुलाको ब्याँस गाउँपालिका(२ का जयसिंह धामी गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा तुइनबाट पानीमा खसेर बेपत्ता भएका थिए । उक्त घटनामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले मंगलबार दिएको प्रतिवेदनमा एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख गरिएको छ । समितिले उक्त घटनामा एसएसबीको उपस्थितिबारे अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

