बर्थडेको गिफ्ट भन्दै गाँजा तस्करी, पक्राउ परे दम्पत्ती


काठमाडौं – सुनसरी प्रहरीले गाँजा तस्करी गरेको अभियोगमा इटहरीका एक दम्पत्तीलाई पक्राउ गरेको छ। इटहरीबाट विराटनगर जाँदै गरेका उनीहरुलाई कोशी राजमार्गको खनारबाट २१ किलो गाँजासहित प्रहरीले पक्रेको हो।

पक्राउ पर्नेमा धनकुटाको साँगुरी गढी– ८ घर भइ इटहरी ४ मा डेरा गरी बस्ने २७ वर्षीय दीपेन्द्र राई र उनकी श्रीमती २५ वर्षीय शर्मिला राई छन्। प्र.१–०२–०४३ प.८८०४ नम्बरको मोटरसाइकलमा विराटनगरतर्फ जाँदै गरेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

सुनसरी प्रहरीका अनुसार उनीहरुले ह्याप्पी बर्थडे लेखिएको रंगीचंगी र्‍यापिङ पेपरले बेरेको कार्टुन बोकेका थिए। शंका लागि खोलेर हेर्दा २१ पोका गाँजा फेला परेको सुनसरीका एसपी सञ्जयसिंह थापाले बताए।

‘राई दम्पतीले प्रयोग गरेको मोटरसाइकलको इन्जिन नम्बर र चेसिस नम्बर पनि मेटाएर प्रष्ट नदेखिने अवस्थामा रहेको छ,’ एसपी थापाले भने।

दम्पती पक्राउ परेपछि उनीहरुको बयानको आधारमा प्रहरीले गाँजा ओसार पसारमा संलग्न भारतको बिहारस्थित अररीया जिल्ला जोगवनी थाना पिपरा विसनपुरका टुनटुन यादवलाई समेत मोरङ प्रहरीको सहयोगमा विराटनगरबाट पक्राउ गरेको छ।

उनीहरुलाई जिल्ला अदालतबाट लागु औषध मुद्दामा नौ दिन म्याद लिइ थप अनुसन्धान भैरहेको सुनसरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया