अमेरिकी सैनिकले अफगानिस्तान छाडेपछि बाइडेनकाे बचाउ


वासिङ्टन – अमेरिकाले १७ दिनमा अफगानिस्तानबाट एक लाख २० हजार भन्दा धेरैको उद्धार गरेको छ । तालिबानले सत्ता कब्जागरेपछि सुरक्षा खतरामा रहेका अफगानी नागरिक, अमेरिकी तथा अन्य विदेशी सैनिक, कूटनीतिज्ञ लगायत गरी १७ दिनभित्रमा एक लाख २० हजारभन्दा बढीलाई उद्धार गरिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

सोमबार अफगानिस्तानबाट २० वर्षे अमेरिकी सैनिक उपस्थिति समाप्त भएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा राष्ट्रपति बाइडेनले यो जानकारी दिएका हुन् । तालिबान समूह र अमेरिकाबीच कतारमा भएको सम्झौताअनुरूप अमेरिकाले अगस्त ३१ भित्र नै अफगानिस्तान छोड्ने प्रतिबद्धता जनाएको थियो ।

‘विगत १७ दिनदेखि हाम्रो फौजले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो हवाई उद्धार कार्य सम्पन्न गरेको छ । यो अवधिमा कूल एक लाख २० हजारभन्दा बढी अमेरिकी, हाम्रा सहयोगी राष्ट्रका नागरिक तथा अफगानिस्तान मिसनमा सघाउँदै आएका सहयोगीहरूलाई उद्धार गरिएको छ,’ बाइडेनले भने, ‘अमेरिकी सैनिकले बेजोड साहस, व्यावसायिकता र कटिबद्धताका साथ यो कार्य सम्पन्न गरेका छन् ।’

यो सँगै अब अफगानिस्तानमा २० वर्षे सैन्य उपस्थिति समाप्त भएको घोषणा राष्ट्रपति बाइडेनले गरेका छन् । अफगानिस्तानबाट अमेरिकी सेनाको बहिर्गमनबारे अमेरिकी जनतालाई थप जानकारी गराइने पनि उनले बताएका छन् ।

‘यो अमेरिकी सैन्य प्रमुख तथा सबै अधिकारी र कार्यस्थलमा रहेका हाम्रा सबै कमान्डरहरूको सर्वसम्मत सिफारिस थियो ताकी योजना अनुसार हाम्रो हवाई उद्धार सेवा अन्त्य भएको छ । सैन्य मिसन अन्त गर्नु हाम्रो फौजको जीवन जोगाउने सर्वोत्तम तरिका थियो भने हाम्रो बहिर्गनसँगै अफगानिस्तान छोड्न चाहनेहरूका लागि सर्वसाधारणको प्रस्थानको सम्भावना सुरक्षित राख्नु हाम्रो कर्तव्य थियो,’ बाइडेनले भनेका छन् ।

अमेरिकी सैनिक परिचालनको २० वर्षपछि सोमबार पेन्टागनले पनि अफगानिस्तानबाट अमेरिकी फौज निकाल्ने काम पूरा भएको घोषणा गरेको थियो । ‘म अफगानिस्तानबाट अमेरिकी फौज निकाल्ने र अमेरिकी नागरिक र अफगानीहरूलाई निकाल्ने सैन्य मिसनको अन्त्यको घोषणा गर्दछु,’ अमेरिकी जनरल केनेथ एफ म्याककेन्जीले भने । अन्तिम सी–१७ बिमान मङ्गलबार अमेरिकी समयअनुसार दिउँसो ३ः२९ बजे हमिद कार्जाई विमानस्थलबाट उडेको थियो ।

‘मैले अफगानिस्तान छोड्न चाहने कुनै पनि अमेरिकी, अफगान साझेदार र विदेशी नागरिकहरूका लागि सुरक्षित मार्ग सुनिश्चित गर्न हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूसँग निरन्तर समन्वयको नेतृत्व गर्न विदेशमन्त्रीसँग आग्रह गरेको छु,’ राष्ट्रपति बाइडेनले भने । अमेरिकी राष्ट्रपतिले तालिबानले आगामी सुरक्षित मार्गबारे प्रतिबद्धताहरू गरेका र विश्वले उनीहरूलाई आफ्ना प्रतिबद्धताहरू पूरा गर्न सम्झाइरहने पनि बताए ।

‘अफगानिस्तानमा चलिरहेको कूटनीतिक पहल जारी राख्न र त्यहाँका जनतालाई मानवीय सहायता छोड्न वा वितरण गर्न चाहनेहरूका लागि निरन्तर प्रस्थान गर्न अनुमति दिन, विमानस्थल पुनः खोल्न त्यस क्षेत्रका साझेदारहरूसँग समन्वय हुनेछ,’ सम्बोधनमा बाइडेनले भनेका छन् । एजेन्सी

प्रतिक्रिया