उद्योग वाणिज्य महासंघमा ढकाल विजयी


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल विजयी भएका छन् ।

महासंको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो भने साँझदेखि मतगणना सुरु भएको थियो ।

आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

ढकालले ६३३ मत पाए भने निकतम प्रतिद्वन्द्वी प्रधानले ४६६ मत पाए । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन ।

जसअनुसार शेखर गोल्छा स्वतः अध्यक्ष चयन भएका छन् । वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका थिए ।

महासङ्घको मतदानका लागि जिल्ला र नगरका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एशोसिएटका लागि कार्की ब्याङ्केट र वस्तुगतका लागि महास्घको केन्द्रीय कार्यालयमा मतदान गरिएको थियो ।

महासङ्घको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जनाले उम्मेदवारी दिएका थिए ।

कार्यकारिणी सदस्यतर्फ यसअघि नै राजेन्द्र राउत र सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका थिए भने वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठ तथा एशोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई निर्वाचित भएका छन् ।

महासंघमा वस्तुगततर्फ १०१, जिल्ला तथा नगरमा १०५ र एशोसिएटतर्फ ९०३ मतदाता रहेका थिए ।

प्रतिक्रिया