
कृष्णाष्टमीमा पनि कृष्ण मन्दिर प्रवेशमा रोक
ललितपुर – काठमाडौँ उपत्यकाका तीन शहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटनको मङ्गलबजारमा अवस्थित कृष्ण मन्दिरमा सोमबार भक्तजनलाई पूजाका साथै दर्शन गर्न नदिने भएको छ ।
हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने भएकाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारीलाई ध्यानमा राखी सोमबार सर्वसाधारणलाई मन्दिर छिर्न नदिने भएको हो ।
यो वर्ष पनि गत वर्ष झैँ कोभिड सङ्क्रमण फैलने डरका कारण भक्तजनलाई मन्दिर प्रवेश गराइ कृष्णको दर्शन गर्न नदिने मन्दिरका पुजारी प्रतापधर राजोपाध्यायले बताए । उनले भने, ‘आवश्यक अनि सीमित व्यक्ति बसेर भगवान्को पूजापाठ आदि कर्म गर्नेछौं ।’ मन्दिर दिनभरि खुला रहन्छ तर मानिसलाई भने भित्र छिर्न नदिने उनको भनाइ छ ।
यही भदौ १ गते ललितपुरका विभिन्न गुठी तथा जात्रा अनि पर्व चलाउने व्यक्तिसँग बसी यो वर्ष आउँदा पर्वमा मात्र विधि गर्ने छलफल भइसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘रोगको ख्याल गरी कहीँकतै भीड हुन दिने छैनौं ।’
सोमबार मनाइने कृष्ण पर्व साङ्केतिकरुपमा मात्र अघि बढाउने कुरामा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए । साँझ परेपछि गुठीबाट बत्ती लगेर बाल्ने र घुइँचो नगर्ने भएको संस्थान कार्यालय ललितपुर शाखाका प्रमुख खिमा वलीले बताइ्न् ।



कागजपत्र |
