
प्रधानमन्त्री बालेन र भारतीय राजदूतबीच भेटवार्ता
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालका लागि विभिन्न देशका राजदूतसँग भेटवार्ता सुरु गरेका छन्।
प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरिरहेका छन्।
प्रधानमन्त्री र भारतीय राजदूतबीच अहिले भेटवार्ता जारी रहेको छ।
भारतीय राजदूतसँगको भेटपछि प्रधानमन्त्री शाहले नेपालका लागि चिनियाँ राजदूतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यसअघि गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि शाहले नेपालमा रहेका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए। चैत २५ गते भएको उक्त भेटमा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।
प्रधानमन्त्री शाहले यसअघि विदेशी कूटनीतिज्ञसँग छुट्टाछुट्टै भेटवार्ता नगर्ने नीति लिएका थिए। तर, पछिल्लो समय उनले असार २३ गते एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गरेका थिए।
आज भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री शाहले भोलि अमेरिकी दूतावासका उच्च अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।



कागजपत्र |
