अनलाइन शिक्षामा नयाँ आयाम, इन्टरनेट बिनै पढ्न मिल्ने उपयोगी मोबाइल एप


काठमाडौं – कोभिड-१९ का कारण प्रभावित भएकाे शिक्षा क्षेत्रमा अनलाइन शिक्षाकाे नयाँ सुरुवात भयाे । तर नेपाल सबैकाे पहुँचमा सहज  इन्टरनेट सुविधा छैन । तसर्थ विद्यार्थीले समस्या भाेग्नु परेकाे छ । यस्तै समस्यालाई मध्यनजर गर्दै अहिले इन्टरनेट बिनै पढ्न मिल्ने उपयोगी मोबाइल एपकाे विकासले शिक्षा क्षेत्रमा नयाँ आयाम थपिएकाे छ ।

अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न प्रविधि स्वदेशकै कम्पनीहरुले विकास गर्न थालेका छन् । शैक्षिक संस्थाले पनि त्यस्ता प्रविधिको प्रयोगमा ल्याउन थालेका छन् । तर, त्यसरी प्रयाेगमा आएका धेरैजसाे प्रविधि अनलाइन अर्थात इन्टरनेटमा आधारित छन्, जुन नेपालकाे परिवेश सुहाउँदाे नभएकाे तर्क गर्न थालिएकाे छ ।

कोभिड-१९ को असरका कारण विद्यालयमा उपस्थित भई पठनपाठन गर्न नपाएपछि वैकल्पिक शिक्षाका लागि संघ, प्रदेश र स्थानीय सरकारले सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई प्राथमिकता दिँदै आएका छन् । प्रदेश सरकारले ‘पीडी स्मार्ट एजुकेसन’ नामक संस्थाको समन्वयमा ‘पीडी स्मार्ट अफलाइन इजी लर्निङ’ नामक एपको प्रयोग गरी अफलाइन कक्षा सञ्चालन गरेको हो ।

संस्थाका सीईओ गणेश जोशीले नेपाल सरकारको नँया पाठ्यक्रमअनुसार स्वीकृति लिएर पठन सामग्री निर्माण गरिएको जनाए । ‘पीडी स्मार्ट एजुकेसन’ले ‘इजी लर्निङ’को अवधारणा अनुसार विगत तीन वर्षदेखि प्रयास गरिरहेको छ । सुरुवाती दिनमा यसको माग खासै नदेखिएको भएपनि निषेधाज्ञा वा लकडाउनका बेला लोकप्रियता बढिरहेको छ ।

६ देखि १२ कक्षासम्मका विद्यार्थीहरुका लागि लक्षित गरी बनाइएको एपमा पाठ्यक्रममा आधारित डकुमेन्ट्रीहरु उपलब्ध छन् । सबै भिडिओ डकुमेन्ट्रीहरु विषय विशेषज्ञद्वारा निर्माण गरिएको छ । जसले गर्दा सिकाइ स्तरीय र प्रभावकारी हुने देखिन्छ । अनलाइन क्लास नहुँदा पनि यसलाई विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । यस एपमा अन्य विषय र पाठ्यक्रमका शैक्षिक सामग्रीहरु पनि उपलब्ध छन् ।

‘पीडी स्मार्ट अफलाइन इजी लर्निङ’ एपको प्रयोग गर्न एक पटक मात्र इन्टरनेटको जरुरत पर्दछ । संस्थाले एप डाउनलोड गर्दा मोबाइलमा एप सेटअपका लागि सिरियल की उपलब्ध गराउँछ । एकपटक एप सेटअप भइसकेपछि एक वर्षसम्म चलाउन मिल्छ । विद्यार्थीहरुले एपमा आफूले चाहेको विषय छानेर पढ्न सक्छन् ।

सिकाइको क्रममा द्विविधा भए उनीहरुले कमेन्ट गर्न मिल्ने व्यवस्था गरिएको छ । ‘पीडी स्मार्ट अफलाइन इजी लर्निङ’ एप गुगल प्ले स्टोरबाट मोबाइलमा सजिलै डाउनलोड गर्न सकिन्छ । सरकारको सहयाेग भएमा ‘स्मार्ट एजुकेसनले’ एक महिनाभित्रै देशभर सेवा उपलब्ध गराउन सक्ने संस्थाका सीईओ जोशीको भनाइ छ । यसअघि ‘स्मार्ट एजुकेसनले निजी शैक्षिक संस्थाहरुसँग पनि समन्वय गरिसकेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेकाे जेठ महिनाकाे प्रतिवेदनअनुसार देशमा हाल कुल जनसंख्याकाे ९१ प्रतिशतमा इन्टरनेट पुगिसकेकाे छ । तथ्याङ्कले इन्टरनेट पहुँच बढेकाे देखाएता पनि अझै पनि देशका आधाभन्दा बढी शैक्षिक संस्था अनलाइन कक्षाका लागि तयार छैनन् । उनीहरू आवश्यक गुणस्तरकाे इन्टरनेटभन्दा बाहिरै छन् ।

गण्डकी प्रदेशले ग्रामीण भेगको शैक्षिक प्रणालीमा उदाहरणीय कदम चालेको छ । गत शनिवार गण्डकी प्रदेशको शिक्षा, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले बालबालिकाका लागि अनलाइन/अफलाइनमा आधारित वैकल्पिक सिकाइ सामग्रीको परीक्षण (अफलाइन मोबाइल एपका माध्यमबाट कक्षा सञ्चालनका लागि डेमो प्रस्तुति) तथा उद्घाटन गरेको छ ।

स्याङ्जाकाे भीरकोट नगरपालिका २ स्थित दहथुम माध्यमिक विद्यालयबाट याे अफलाइन एपको डेमो परीक्षण गरिएको हाे । परीक्षण प्रभाकारी भएमा गण्डकी प्रदेशका एक हजार ४ सय ४८ वटा विद्यालयका कक्षा ६ देखि १२ कक्षा सम्मका करिब ३ लाख ६५ हजार विद्यार्थी लाभान्वित भएको आंकलन प्रदेश मन्त्रालयको छ।

 

प्रतिक्रिया