अझै केही दिन झरी पर्ने : बाढी, पहिरो र डुबानको जोखिम कायमै


काठमाडौं – केही दिनदेखि सक्रिय रहेको मनसुन अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव र न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले आगामी तीन दिनसम्म मौसम बदली रही देशभर वर्षा हुने सम्भावना रहेको छ। दुई दिनयता सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको छ । देशका विभिन्न १३ वटा वर्षा मापन केन्द्रमा ठूलो वर्षा भएको रेकर्ड भएको छ ।

मौसमविद्का अनुसार नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको मापन गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अझै केही दिन पानी पर्ने सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा तराईको भू–भाग नजिकै रहेकाले झरी रोकिने सम्भावना नभएको मौसमविद् मानन्धरले बताइन् । तराई नजिकै मनसुनी न्यूनचापीय रेखा रहिरहेकाले मनसुनी गतिविधि सक्रिय नै रहेकाले अझै केही दिन पानी पर्ने सम्भावना रहेको उनले बताइन् ।

तराईको भू–भाग नजिकै रहेको न्यूनचापीय रेखा तल नझरेसम्म मौसम नखुल्ने मौसमविद्ले बताएका छन् । आज प्रदेश(१, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै, राति प्रदेश(१, वाग्मती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । लगातार वर्षा भइरहेकाले तराईका जिल्लामा डुबानको जोखिम उच्च छ । यस्तै, बाढी पहिरोको खतरा पनि रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया