

चिनियाँ रक्षामन्त्री फेङही एक दिनका लागि काठमाडौं आउनुको अर्थ

काठमाडौं– नेपालमा दुई छिमेकीका उच्चस्तरीय व्यक्तिको भ्रमण र चहलपहल बढ्नुलाई नेकपाको आन्तरिक विवादसँगै भारत–अमेरिका–चीनको अन्तर्राष्ट्रिय राजनीतिको अर्थमा लिइएको छ।
शुक्रबार दुई दिने भ्रमण सकी भारतीय विदेश सचिव हर्षबर्धन श्रृगंला फर्किएका छन्। आइतबार चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही एकदिने भ्रमणको लागि नेपाल आउने भएका छन्।
यसबारे सरकारले औपचारिक जानकारी दिएको छ । भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्नेछन्। उनले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नेछन् ।
कुटनीतिक जानकारका अनुसार भारत–अमेरिका र चीनको अन्तर्राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा नेपाल रहेको अर्थमा बुझ्नुपर्ने बताएका छन्। चीनले एसीया प्रशान्त क्षेत्रमा बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यक्रम चलाइरहेको छ भने अमेरिकाले इन्डो प्यासिफिक रिजनलाई तिव्रता दिएको छ।
अमेरिकाले यस कार्यक्रमलाई बलियो बनाउनका निम्ति भारतसँगको सहकार्यलाई अगाडि सारेको छ। तिव्र आर्थिक विकास र विश्व शक्तिका रुपमा उदाएको चीनलाई रोक्नका लागि अमेरिकी रणनीति भारतसँगको गठबन्धन हो। चीन–भारत सम्बन्ध सुमधुर छैन। सीमामा उनीहरूबीच रहेका विवादका कारण भारत अमेरिकासँग नजिक छ।
अमेरिका र चीनको नेपाल चासो भने तिब्बती शरणार्थीको विषयमा छ। अमेरिका उनीहरूलाई लगानी गरिरहेको छ भने चीन नेपालमा उनीहरूको कुनै पनि प्रकारको गतिविधि नहोस् भन्ने चहान्छ।
अहिले नेपाल कम्युनिस्ट पार्टीको बहुमतको सरकार भएका कारण चीन यसलाई कायम राख्न चहान्छ भने भारत नेकपामार्फत नै आफूलाई नेपालमा प्रभाव जमाउने अभ्यासका रुपमा उच्चस्तरीय भ्रमण गरिरहेको छ।

