

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार(आज) दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत अन्य नियमित एजेन्डाहरूमा छलफल तथा निर्णय हुनेछ ।
माधवकुमार नेपाल नेतृत्वको दलले मान्यता पाएसँगै सत्ता गठबन्धनलाई मन्त्रिपरिषद् बिस्तारको बाटो खुलेको छ ।
नेपालको दल दर्ता नभएसम्मका लागि सत्ता गठबन्धनले मन्त्रिपरिषद् बिस्तार रोक्दै आएकोमा निर्वाचन आयोगबाट मान्यता पाएसँगै विस्तारको बाटो खुलेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत बिहीबार नै नयाँ पार्टीको सनाखत लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।
काँग्रेस, माओवादी, एमाले समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले नेपालको दललाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने तयारी गरेको छ भने जनमोर्चाले सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ ।
स्रोतका अनुसार सम्भवत भोली शुक्रबारसम्म मन्त्रीपरिषद विस्तार हुने बुझिएको छ ।

