

पूर्वप्रधानमन्त्रीका हैसियतमा पनि डा. भट्टराईलाई चौथाइवालेले भेट नगर्नुको गुह्य कारण
प्रधानमन्त्री शेरबहादुर देउवादेखि सुरु गरेको भेटवार्तालाई उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै सकेका थिए

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटपछि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले ट्वीट गरेका छन्,‘दुई पक्षीय हितका विषयमा कुराकानी भयो र यो मेरो भ्रमणको अन्तिम राजनीतिक भेट भयो।’
राजनीतिक संक्रमणबीच चर्चामा रहेका बाहलवाला र पूर्वप्रधानमन्त्रीहरूसँग चौथाइवालेले अनिवार्य भेट गरे। झलनाथ खनाल नयाँ दिल्लीमा उपचारका क्रममा रहेका कारण उनको भेट नभएको हो। तर, पूर्वप्रधानमन्त्री रहेका जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई भने चौथाइवालेले भेटेनन्।
प्रधानमन्त्री शेरबहादुर देउवादेखि सुरु गरेको भेटवार्तालाई उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै सकेका थिए।
यसबाहेक पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँणलगायतसँग पनि चौथाइवालेको भेट भयो। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतलाई भेटेका उनले भट्टराईलाई किन वास्ता गरेनन्?
त्यसो त जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि महत्व नदिएका चौथाइवालेले डा. भट्टराईलाई पूर्वप्रधानमन्त्रीका रुपमा चासो दिन सक्ने अनुमान गरिएको थियो।
कुटनीतिक र राजनीतिक लाइनका आधारमा चल्ने भारतीय पक्षको निरन्तरतालाई चौथाइवालेले कायम राखेको कतिपयको बुझाई छ। उनले डा. भट्टराईसँग भेट नगर्नुका खास र गुह्य कारण छन्।
भारतले नेपालको राजनीतिमा हस्तक्षेप गरेको भनी ५ जना पूर्वप्रधानमन्त्रीको विज्ञप्ति निकाल्ने काम डा. भट्टराईको दबाबमा नै भएको भन्ने चौथाइवालेलाई विभिन्न पक्षले ब्रिफिङ गरेका छन्। अर्कोचाहिँ भारतीय संस्थापनविरुद्ध भट्टराईका निरन्तरका प्रहार र जवाहरलाल नेहरु विश्वविद्यालयको उत्पादन हुनुले पनि यसमा भूमिका निर्वाह गरेको बताइन्छ।
‘अहिले हिन्दूत्व र भाजपा सरकारका कदमका विषयमा भट्टराई खुलेर विरोधमा लागेका छन्। उनले कतिपय भारतीय पत्रिकामा आलेख समेत लेखेर भाजपा सरकारसँग टकराब लिए त्यसको प्रतिक्रियाका रुपमा पनि चौथाइवालेले नभेटेका हुन्’, उच्च स्रोतले भन्यो,‘उनले साधारण रुपमा नै सामाजिक सञ्जालमार्फत भट्टराईसँग कटाक्ष गर्दै आएका थिए।’

