समावेशी शिक्षा पढाउन त्रिपक्षीय समझदारी


कर्णाली – समावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तहसम्म समावेशी ९विशेष० शिक्षा पठनपाठनका लागि बुधबार चङआङ विश्वविद्यालय कोरिया र ओस्लोमिट विश्वविद्यालय नर्वेसँग आपसी समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

सो विश्वविद्यालयको शिक्षा शास्त्र सङ्कायले शिक्षा शास्त्र केन्द्रीय क्याम्पसमा आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा समावेशी शिक्षा शिक्षण गर्ने कार्यक्रमको तयारी थालेको विश्वविद्यालयका उपप्राध्यापक एवं शिक्षा शस्त्र सङ्कायका पूर्वसहायक डीन विष्णुकुमार खड्काले जानकारी दिए।

दिगो विकासको लक्ष्यको एक महत्त्वपूर्ण अवयवका रुपमा रहेको गुणस्तरीय समावेशी शिक्षालाई विश्वविद्यालयले आत्मसात् गर्दै शिक्षा शास्त्र सङ्कायअन्तर्गत विशेष आवश्यकता भएका बालबालिका र शिक्षा प्राप्तिको अवसरबाट वञ्चित रहेका लक्षित वर्गका विद्यार्थीलाई पढाउन सक्ने जनशक्ति तयार गर्न स्नातक तहसम्म उक्त विषयलाई प्रमुख विषयका रुपमा रहने गरी पाठ्यक्रम निर्माणको प्रक्रिया सुरु गर्न थालिएको खड्काले बताए।

‘विश्वविद्यालयको प्राज्ञिक तथा कार्यकारी परिषद्बाट नीतिगतरुपमा प्रक्रिया अगाडि बढिसकेको र सो कार्यक्रमसम्बन्धी सहयोग गर्ने उद्देश्यले कोरियाको चङआङ र नर्वेको ओस्लोमिट विश्वविद्यालयसँग आपसी समझदारी पत्रमा हस्ताक्षर गरी छात्रवृत्ति, अध्ययन, अध्यापन र अनुसन्धानका कार्यमा सहयोग आदानप्रदान गर्ने गरी परियोजना सुनिश्चित भएको छ’, उनले भने, ‘अब हामी पाठ्यक्रम निर्माणको प्रक्रिया अविलम्ब अगाडि बढाउँछौँ र आगामी शैक्षिक सत्रदेखि कार्यक्रम सुरुआत गर्छौँ ।’

अस्लोमिट र मप विश्वविद्यालयबिच नेपालमा समावेशी शिक्षा कार्यक्रम परियोजनाको एक साझेदार संस्थाका रुपमा आपसी समझदारी पत्रमा हस्ताक्षर गर्दै शिक्षा शास्त्र सङ्कायको समेत जिम्मेवारी प्राप्त गरेका मानविकी र सामाजिक शास्त्र सङ्कायका डीन सह प्रा डा लिलाधर तिवारीले विश्वविद्यालयले अन्तर्राष्ट्रिय सङ्घ, संस्था एवं युरोप, अमेरिका र एसियाका उत्कृष्ट विश्वविद्यालयसँग समन्वय तथा सहकार्य गर्दै जाने बताए । उनले आजको युगमा उपयोगी र आवश्यक शैक्षिक कार्यक्रम थप गर्ने एवं उच्च शिक्षाको गुणस्तर र विकासका लागि छात्रवृत्तिको अवसर सिर्जना गर्दै अनुसन्धान तथा पेसागत सक्षमता विकास गर्न सहकार्य आवश्यक रहेको जनाए।

कोरियाको चङआङ विश्वविद्यालयसँग लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेश्नल कोअपरेसन ९लुपिक० परियोजनाअन्तर्गत भएको किक अफ बैठकलाई सम्बोधन गर्दै मपका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई नयाँ र समसामयिक विषयमा युग सुहाउँदो कार्यक्रम अगाडि बढाउने धारणा राखेका थिए । विश्वका विभिन्न विश्वविद्यालय र सहयोगी सङ्घ संस्थासँगको सहयोग र सहकार्यबाट अध्ययन, अध्यापन तथा अनुसन्धानका गतिविधिलाई व्यवस्थित र गुणस्तरीय बनाउन विश्वविद्यालय क्रियाशील रहेको उनको भनाइ थियो ।

विशेष आवश्यकता शिक्षा अर्थात् समावेशी शिक्षा कार्यक्रमसँग सम्बन्धित नर्वेजियन प्रोग्राम फर क्यापासिटी डेभ्लोप्मेन्ट इन हाइएर एजुकेसन एण्ड रिसर्च डेभ्लोप्मेन्ट ९नोरहेड० परियोजनामा नर्वेका ओस्लोमिट विश्वविद्यालय, इनल्याण्ड भ्याली एप्लाइड साइन्स विश्वविद्यालय र नेपालका त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय साझेदार संस्थाका रुपमा रहेका छन् ।

लुपिक परियोजनाअन्तर्गत दक्षिण कोरियाको चङआङ विश्वविद्यालय र नेपालका सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा पोखरा विश्वविद्यालय साझेदार संस्थाका रुपमा रहने जनाइएको छ ।

प्रतिक्रिया