

भारतको धौलीगंगा बाँध खोलिँदै, तल्लो तटीय क्षेत्रकालाई सतर्क रहन प्रशासनको आग्रह

दार्चुला — भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँध बिहिबार खोलिने भएको छ ।
एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार भाद्र १० गते विहान ७ बजे देखि बेलुकी ७ बजे सम्म ‘सिफ्ट फ्लशिंग’, सरसफाइको कार्य हुने भएकाले महाकाली नदीमा जलस्तर बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले धौलीगङ्गा जलायसमा पानीसँगै बालुवा माटो लगायतका बस्तु धेरै मात्रामा जम्मा भएको र उतm सिफ्ट फ्लशिंगको लागि बाँधको ढोका खोलिए पश्चात् महाकाली नदीमा पानीको सतह बढ्न जाँदा तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
महाकालीको तटीय क्षेत्र पर्ने दार्चुलाको व्यासँ गाउँपालिकाको वडा नम्बर ५ धौउलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयले एक सूचना समेत प्रकाशन गरेको छ ।यही भाद्र १० गते बेलुकासम्म खोलिने भएकाल तटीय क्षेत्रमा बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत प्रजिअ जोशीले आग्रह गरेका हुन् ।
परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण उक्त क्षेत्रका नागरिकलाई पनि नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।
दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्व सतर्कता अपनाउन सजिलो भएको छ । विसं २०७० मा धौलीगङ्गाकै बाँधका कारण दार्चुला सदरमुकाममा अर्बौंको क्षति गरेको थियो ।

