कारबाहीमा परेका सांसद पदमुक्त गर्न माग गर्दै सभामुख कार्यकक्षमा एमालेकाे धर्ना


काठमाडौं – सभामुख अनुपस्थित रहेको कार्यकक्षमा एमाले सांसदहरुको धर्ना थालेका छन् । एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त गरिएको सूचना टास गर्न माग गर्दै एमाले सांसदहरुले बुधबार सभामुख अग्नि सापकोटाको सिंहदरवारस्थित कार्यकक्षमा धर्ना दिएका छन् ।

भदौ १ गते एमालेले वरिष्ठ नेता माधवकुमार नेपाललगायत १४ जना प्रतिनिधिसभाका सांसदलाई पार्टीबाट कारबाही गर्दै सांसदबाटसमेत कारबाही गरेको थियो । सो कारबाहीको जानकारी एमालेले संसद सचिवालयमा तत्काल जानकारी गराए पनि सभामुख सापकोटाले सूचना टास गर्न ढिलाइ गरेको भन्दै एमाले सांसहरु धर्नामा बसेका हुन् ।

सूचना टास भएपछि उनीहरु पदमुक्त हुने भएकाले एमाले सांसदहरुले सूचना टासका लागि सभामुखलाई दबाब दिएका हुन् । माधवकुमार नेपाललगातयत नेताहरुले एमाले विभाजन गरेर नयाँ दल नेकपा (एकीकृत समाजवादी) गठनका लागि बुधबार नै निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

तर बुधबार सभामुख सापकोटा भने अनुपस्थित छन् । दाँतको सर्जरी गराएका उनी चिकित्सकको सल्लाह अनुसार आराममा रहेको उनको सचिवालयले जनाएको छ । यसअघि पनि एमाले सांसदहरुले सभामुखको कार्यकक्षमा धर्ना दिएका थिए । सो क्रममा एमाले सांसदहरुले सभामुखलाई धम्की दिएको सभामुखको सचिवालयले जनाएको थियो । सो धम्कीप्रति सत्तारुढ दलहरु काँग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीले आपत्ति जनाएका थिए ।

प्रतिक्रिया