तालिबानसँग सम्पर्क बढाउँदै चीन, राजदूतले भेटे नेताहरू
काबुल- अमेरिकासहित अधिकांश पश्चिमा राष्ट्रहरूले अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गरिरहेका बेला चीनले भने काबुलमा तालिबानहरूसँग सम्पर्क बढाउन थालेको छ। रूसी समाचार एजेन्सी स्पुतनिकले काबुलस्थित चिनियाँ राजदूत वाङ युले मंगलबार तालिबानको राजनीतिक विभागका नेताहरूसँग छलफल गरेका छन्।
छलफलका क्रममा उनीहरूबीच काबुलस्थित चिनियाँ दूतावास र कूटनीतिज्ञको सुरक्षा, अफगानको अहिलेको अवस्था र चीनले गर्न सक्ने मानवीय सहायताबारे कुराकानी भएको जनाइएको छ। अमेरिकालगायत केही देशहरूले काबुलको दूतावास बन्द गरेर कूटनीतिज्ञलाई उद्धार गरेका बेला चीनले भने काबुल दूतावासले निरन्तर काम गरिरहेको जनाएको छ।
यसअघि मंगलबार नै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अन्तर्राष्ट्रिय समुदायले तालिबानमाथि प्रतिबन्ध लगाए त्यो फलदायी नहुने बताएका थिए। तालिबानमाथि प्रतिबन्धको साटो अफगानिस्तानको सकारात्मक विकासमा अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नु पर्ने उनको भनाइ थियो।
उसो त तालिबानले काबुल कब्जा गर्नुअघि नै चीनले तालिबान नेताहरूलाई आफ्नो देशमा स्वागत गरेको थियो। केही साताअघि चीन पुगेर तालिबानका उच्च तहका नेता मुल्लाह अब्दुल घानी बारादारले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए। एजेन्सी