नारायणकाजीलाई प्रचण्डले प्रवास विभागमा किन थन्क्याए?
काठमाडौं– नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गर्ने क्रममा वरियतामा दोस्रो रहेका नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएको छ।
उनको स्थानमा पूर्वसभामुख कृष्णबहादुर महरा प्रवक्ताका रुपमा ल्याइएका छन्। माओवादीबाट परराष्ट्रमन्त्री समेत बनिसकेका श्रेष्ठलाई विदेश विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छैन। उनलाई प्रवास समितिको प्रमुखमा थन्क्याइएको छ।
प्रवास समिति पार्टीको जिम्मेवारीका हिसाबले खासै महत्वपूर्ण भने होइन। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पुस्ताका नेतालाई महत्वपूर्ण जिम्मेवारीमा पत्याएका छन्।
वरियतामा आफूपछिको स्थानमा रहेका श्रेष्ठलाई प्रचण्डले किन महत्वपूर्ण जिम्मेवारी दिएनन्?
हालै मात्र पनि सरकारमा जाने विषयमा माओवादीका कतिपय बैठकमा प्रचण्डसँग श्रेष्ठको भनाभन भएको भन्ने विषय सतहमा आएको थियो। ‘प्रचण्डसँग बैठकमा भिड्ने पनि श्रेष्ठ नै हुन्। यसैकारण पनि त्यसको प्रभावमा उनले महत्वपूर्ण जिम्मेवारी नपाएका हुन्’, माओवादी उच्च स्रोतले भन्यो।
प्रचण्डले जनार्दन शर्मालाई संगठन विभागको जिम्मेवारी दिए। जबकि, कम्युनिस्ट पार्टीमा संगठन विभागको जिम्मेवारी महासचिवको हुने गर्दछ। यस हिसाबले प्रचण्डले पूर्वमहासचिव कृष्णबहादुर महरा भन्दा पनि माथि शर्मालाई ल्याएका छन् भने आर्थिक विभागको प्रमुखका रुपमा बर्षमान पुनलाई पत्याएका छन्।