फेरि बढ्यो पेट्रोलियमको मूल्य, पेट्रोल प्रतिलिटर १३० र ग्यास प्रतिसिलिण्डर १४५० पुग्यो


काठमाडौं — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्य सोमबार मध्यरातदेखि लागू हुने गरी बढाएको जनाएको छ ।

निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । मूल्यबढेसँगै पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कायम भएको जनाइएको छ ।

त्यस्तै एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको निगमले जनाएको छ ।

निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको छ ।

भारतीय आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको बताएको छ । गत असार ३० गते पनि निगमले मूल्य समायोजन गरेको थियो ।

 

प्रतिक्रिया