१४औँ महाधिवेशन निर्धारित मितिमै गर्न काँग्रेस नेताहरुको जोड
काठमाडौं – नेपाली काँग्रेसका नेताहरूले निर्धारित मितिमै पार्टीको १४औँ महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।
पार्टीको संस्थापन इतर पक्षका नेताहरूको आजको बैठकले क्रियाशील सदस्यताको काम केन्द्रीय कार्य समितिको बैठकले निर्धारण गरेको मितिभन्दा ढिला भएकामा ध्यानाकर्षणसमेत भएको जनाएको छ ।
बैठकमा निर्धारित समयमै क्रियाशील सदस्यताको काम र महाधिवेशन हुनुपर्ने तथा आफ्नो पक्षबाट महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल भएको नेता बलबहादुर केसीले जानकारी दिए । नेताहरूबीच पार्टीको सैद्धान्तिक र सङ्गठनात्मक रूपमा गर्नुपर्ने विविध विषय र भावी दिनमा पार्टीलाई थप सशक्त नेतृत्वको आवश्यकताका बारेमा छलफल भएको थियो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा रामशरण महत, अर्जुननरसिंह केसी, केसी, सुजाता कोइराला, शेखर कोइराला उपस्थित थिए ।