बेदुरामको नेतृत्वमा सरकारमा जाँदै माधव नेपालको एकीकृत समाजवादी, अरु को–को छन्?


काठमाडौं– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी दर्ता हुनासाथ राष्ट्रिय सभा सदस्य बेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।

६ मन्त्री र एक राज्यमन्त्रीसहित भुसाल नेतृत्वमा सरकारमा सहभागी हुने तयारी भएको नेपालनिकट उच्च स्रोतले जनाएको छ। मन्त्रीको नाम भने टुंगो लागिसकेको छैन। तर, भुसालसहित रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ मन्त्री हुने पक्कापक्की जस्तो भएको बताइएको छ।

‘सबैलाई मौका दिने हिसाबले नै तयारी भएको छ। सकभर पहिला मन्त्री नभएकालाई जिम्मेवारी दिनेगरी नेता नेपालले प्रस्ताव गर्नुभएको छ’, स्रोतले भन्यो,‘मन्त्रीको जिम्मेवारी केही महिनापछि रोटेशनमा पनि हुनेछ।’

नेकपा एकीकृत समाजवादीले प्रमाणपत्र पाउनासाथ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरिएको छ। मन्त्रीका लागि एमाले छाडेका प्रेम आले, कृष्णकुमार (किसान) श्रेष्ठलगायतले पनि इच्छा देखाएका छन्। तर, नेपाल समूहभित्र नै उनीहरुलाई मन्त्री बनाउने या नबनाउने भन्ने विषयमा विवाद छ।

नेपाल कित्तामा आएर उपप्रधानसहित गृह पाउनेगरी बामदेव गौतमले सरकारमा जाने इच्छा देखाए पनि तिव्र बिरोध भएको थियो। आइतबार मात्र गौतमले आफू एमालेमा रहेको सन्देश दिइसकेपछि उनको नाम प्रस्तावित हुनेछैन।

प्रतिक्रिया