

एमाले सांसदहरूको व्यवहार अमर्यादित र असंसदीय : सभामुख

काठमाडौं – सभामुख अग्नि सापकोटाले नेकपा एमालेका सांसदहरुले आफूमाथि गरिएको व्यवहार अमर्यादित र संसदीय चरित्रको नभएको बताएका छन् ।
बिहीबार नेकपा एमालेका सांसदहरु एमालेर्क माधव नेपालसहितका १४ नेतालाई छिटो पदमुक्त गनुपर्ने भन्दै एमाले सचेतक विशाल भट्टराईसहित १४ नेता सभामुख सापकोटाको कार्यकक्ष सिंहदरबार पुगेका थिए ।
सोहि विषयलाई लिएर सभामुख सापकोटाले आफू निकटहरूसँगको परामर्शमा एमाले सांसदहरू आफ्नो कार्यकक्षमा आएर अमर्यादित, असंसदीय रुपमा प्रस्तुत भएको बताएका छन् । सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले सभामुखले आफूमाथि गरिएको व्यवहार अमर्यादित र संसदीय चरित्रको नभएको बताएको जानकारी दिए ।
बिहीबार विहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टाको अवधिमा उनीहरुले सभामुख सापकोटालाई तत्काल कारवाही प्रक्रिया नगरे बल प्रयोग गर्न बाध्य हुने जस्ता चेतावनीपूर्ण शब्द प्रयोग गरेको जनाइएको छ । ‘एमालेका नेताहरुले सभामुखमाथि हिजो गर्नु भएको व्यवहार शोभनीय भएन,’ सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले भने, ‘सभामुख जस्तो सम्मानित व्यक्तिमाथि गरिएको असंसदीय, अमर्यादित व्यवहार, शब्द चयनले सीमा नाघेको महसुस भएको छ ।’ प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजै दिएको अभिव्यक्ति समेत मर्यादित नभएको उनले बताए ।
सभामुख सापकोटालाई आज पनि माधव नेपालसहितका १४ नेतामाथि कारवाही प्रक्रिया छिटो अघि बढाउन माग गर्दै सचेतक शान्ता चौधरी, महेश बस्नेतसहितका टोली सिंहदरबार पुगेको थियो । तर सभामुख सापकोटा नआएपछि उनीहरु फर्किएका छन् ।

