

एमालेका १४ सांसदलाई कारबाही गर्न मिल्दैन : डा. देवकोटा

काठमाडौं – राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले नेकपा एमालेका १४ जना सांसदमाथि कारबाही गर्न नमिल्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा राख्दै डा.देवकोटाले दलीय व्यवस्थामा हरेक निर्णय राजनीतिक दलभित्र हुनुपर्ने तर १४ जना सांसदमाथि गरिएको कारबाही प्रतिसोध साँध्ने उद्देश्यबाट प्रेरित भएको उनले टिप्पणी गरेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६(२) अनुसार संसदमा विश्वासको मत लिने प्रयोजनका लागि संसदीय दल र केन्द्रीय कमिटी कुनैमा पनि निर्णय नभएको उनले बताएका छन् ।
संविधानको अघिल्लो धारा क्रियाशील भएपछि पछिल्लो धारा स्वतः निष्क्रिय हुने बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘। ७६(२) को प्रयोजनका लागि सोधिएको स्पष्टीकरणलाई थाँती राखी ७६(३) र ७६(५)लाई क्रियाशील गराइएको छ । यति मात्र होइन संसद विघटन गरिएको छ । स्पष्टीकरण सोधिएका सांसदहरुकै हस्ताक्षरका कारण संसद पुनर्स्थापना भइसकेको छ । उहाँहरुकै हस्ताक्षरका कारण सरकारले विश्वासको मत पाएको छ । यति धेरै घटनाक्रम विकास भइसकेको अवस्थामा अब पछाडि फर्किएर धारा ७६(२)मा सहयोग नगरेको आधारमा कारबाही गर भन्न मिल्छ ?
उनले तथ्य र प्रमाणविना प्रतिसोध साँध्न लेखिएको चिठीको आधारमा सभामुखले कारबाही गर्न नमिल्ने धारणा राखेका छन् ।

