१४ जना सांसदलाई चाँडो पदमुक्त गर्न एमालेको दवाव
काठमाडौं – नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराएको छ ।
बिहीबार एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले सभामुख सापकोटालाई भेटेर कारवाहीमा परेका सांसदलाई पदमुक्त गर्न आग्रह गरेका हुन् ।
यसअघि भदौ १ गते एमालेले माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, मेटमणि चौधरी लगायतलाई सांसद पदबाट हटाउने निर्णय गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो । तर,एमालेको उक्त कारवाही अवैधानिक भन्दै माधव नेपालसहितका नेताहरुले भदौ २ गते उक्त पत्र अघि नबढाउन सचिवालयमा अर्को पत्र पठाए पनि दर्ता भएको थिएन ।
कारबाही गरिएको व्यहोराको पत्र दर्ता भएको १५ दिनभित्र संसद चलेको भए सदनमा सभामुखले जानकारी गराउने नभए सूचना टाँस गरेर जानकारी गराउने संसदीय अभ्यास छ ।