पूर्वअध्यक्षहरू नेपाल उद्योग वाणिज्य महासंघ बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल किन चहाँदैनन्?


काठमाडौं– विहीबारदेखि नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा सुरु भएको छ। यस साधारणसभासँगै अर्को कार्यकालका लागि अध्यक्ष बन्ने बरिष्ठ उपाध्यक्षको निर्वाचन पनि पक्कापक्की छ। निर्वाचन शनिबार हुनेछ।

बरिष्ठ उपाध्यक्षको मैदानमा बेलामौका विवादमा तानिएका व्यावसायी चन्द्र ढकाल र महासंघमा लामो समय काम गरेका अनुभवी किशोर प्रधान छन्। यसअघिका पूर्वअध्यक्षहरू प्रधानको अनुभव र लगनशीलताका कारण बरिष्ठ उपाध्यक्षमा आउँदा राम्रो हुने ठान्छन् भने ढकालका पक्षमा विवादीत बनेका महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल मात्र छन्।

त्यसो भए सफल भइसकेका पूर्वअध्यक्षहरू चन्द्र ढकाललाई बरिष्ठ उपाध्यक्षमा किन चहाँदैनन् त?

सहमतिका आधारमा प्रधानलाई यस पटक बरिष्ठ उपाध्यक्षमा निर्वाचित गराउन र अर्कोपटक बरिष्ठ उपाध्यक्ष बन्नका लागि पूर्वअध्यक्षहरूले प्रयास गरेका थिए। तर चन्द्र ढकालले यसैपटक आफू बरिष्ठ उपाध्यक्ष बन्नुपर्ने अडानसहित चुनावी मैदानमा उत्रिने अड्डी कसेका थिए। जसका कारण साधारणसभापछि निर्वाचन हुने निश्चित भयो।

कोरोना भाइरस(कोभिड–१९)को जोखिमका कारण सहमतिमा नेतृत्व तय गर्ने सबै प्रयासलाई ढकालले असफल बनाएपछि पूर्वअध्यक्षहरू प्रधानको कौशलता र लगनशीलताको पक्षमा उत्रिएका हुन्। ‘यस पटक किशोर प्रधान, अर्को पटक चन्द्र ढकाल’ भन्ने नाराका साथ पूर्वअध्यक्षहरूले भर्चुअल प्रचार गरिसकेका छन्।

चण्डिराज ढकालले एक अर्ब ५० करोडको ऋणबाट मुक्त हुनका लागि पनि चन्द्र ढकालको पक्षमा मत मागिरहेका छन्। चण्डिराज कर्जा सूचना केन्द्रको कालोसूचीमा दर्ज नाम हो। ‘कालोसूचीमा भएका व्यक्तिको सहयोगका आधारमा चन्द्र ढकाल मैदानमा उत्रिएका छन्। खासमा चण्डिराजले उक्साएको भरमा उनले उम्मेदवारी दिएका हुन्’, स्रोतले भन्यो।

यसैबीच चुनावमा आफूलाई अगाडि सार्नका लागि चन्द्र ढकालले बैंकको संस्थागत पुँजीको रकम अनुचित हिसाबले बाँडेको आरोप लागेको छ। ३ करोड ७७ लाख रुपैंया रकम विभिन्न जिल्लाका अध्यक्षलाई पूर्वयोजना अनुसार नै ढकालले बाँडिसकेको बताइन्छ।

आगामी कार्यकालका लागि अध्यक्ष निश्चित भएका शेखर गोल्छा पनि चन्द्र ढकालको विपक्षमा छन्। चन्द्रले गोल्छाविरुद्ध पनि विविध प्रकारले प्रचारबाजी गर्दै आएका छन्। जसले यदि चन्द्र ढकाल उपाध्यक्ष बनी हाले पनि महासंघको आगामी कार्यकाल सुखद नहुने प्रक्षेपण गरिएको छ।

‘उहाँ (चन्द्र)को जित्ने सम्भावना कम देखिन्छ। तैपनि कसैगरी जितेको खण्डमा उहाँ र अहिलेको अध्यक्षबीचको जुहारी र विवादले महासंघको भविष्य के होला? यो विषयमा सबैले विचार गर्नुपर्ने हुन्छ’, महासंघका एक जना पदाधिकारीले भने।

प्रतिक्रिया