

एमाले विभाजन रोक्ने ओलीको अन्तिम अस्त्र, यी हुन् कारबाही गर्न लागिएका ११ सांसद

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यादेशमार्फत पार्टी विभाजन गर्न खोजेको आशंकापछि रोक्ने अन्तिम अस्त्रको प्रयोग गर्ने भएका छन्।
मंगलबार संसदीय दल र स्थायी कमिटीको बैठक डाकेका उनले नेता माधवकुमार नेपाल पक्षका ११ जना समानुपातिक सांसदलाई कारबाही गरी उक्त रिक्त स्थानमा अन्यलाई सिफारिस गर्न लागेका हुन्।
केन्द्रीय समितिले भने पार्टी विभाजन रोक्न सक्नेमा ओली ढुक्क छन्। प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरी सत्ता गठबन्धनले एमाले विभाजन गर्नका लागि अध्यादेश ल्याउने तयारी गरेको भन्दै ओलीले गएराती विज्ञप्तिसहित अपिलपत्र जारी गरेका थिए।
नेता नेपाल विभाजनका लागि अगाडि बढे संसदीय दलमा उनलाई कमजोर बनाउनका लागि समानुपातिक सांसदहरु मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, पार्वती विशुंखे, कल्याणी खड्का, समिना हुसेन, विना बुढाथोकी, निरादेवी जैरू, कलिला खातुन, लक्ष्मी चौधरी, पुष्पा कर्ण र सरला यादवलाई हटाउन लागिएको स्रोतले जनाएको छ।
शेरबहादुर देउवा सरकारलाई विश्वासको मत दिने यी ११ बाहेक नेपाल पक्षमा उभिएका अन्य ८ जना ओली पक्षमा नै फर्किने सम्भावना रहेको बताइन्छ। यसो हुँदा सरकारलाई समर्थन गर्ने नेपाल पक्षमा तीन जना मात्र सांसद रहने बताइन्छ।
पार्टी एकीकरणका लागि दोस्रो पुस्ताका अन्य प्रभावशाली १० जना सांसदसहितका नेता सक्रिय रहेका छन्। उनीहरूले विभाजनका पक्षमा साथ नदिनेमा ओली ढुक्क छन्।

