म्याराडोनाको निधनमा तीन दिने राष्ट्रिय शोक


ब्यूनस आयर्स(एजेन्सी)–विश्वविख्यात अर्जेन्टिनी फूटबलर डिएगो म्याराडोनाको निधन पछि अर्जेन्टिनामा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । म्याराडोनाले बुधबार ६० वर्षको उमेरमा हृदयघातका कारण अन्तिम सास फेरेका थिए । उनको पार्थिव शरीरलाई राष्ट्रपतिको कार्यालय कासा रोसारामा लगिएको छ । यहाँ तीन दिनसम्म सर्वसाधारणले उनी प्रति श्रद्धाञ्जली दिनेछन् ।

म्याराडोनाको टिमका साथी रहेका ओहवाल्दो अर्बिलेसले म्याराडोनाले फूटबल करियरमा पाएको प्रशंसा र सम्मान वर्तमान समयमा फूटबलका सुपरस्टार लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोले पनि पाउन नसकेको बताए । फूटबलका विश्वका कैयौं हस्तीले म्याराडोनालाई श्रद्धाञ्जली दिएका छन् । यसमा मेसी, रोनाल्डोदेखि लिएर ब्राजिलका महान खेलाडी पेले पनि छन् । ‘मैले एउटा मिल्ने साथी गुमाएँ र विश्वले एक महान खेलाडी गुमायो । मलाई आशा छ कि एक दिन हामी आकाशमा एकसाथ फुटबल खेल्नेछौं’, पेलेले भनेका छन् । मेनचेस्टर सिटीका मेनेजर पेप गुआर्डियेलोले म्याराडोनाले विश्व फूटबललाई उत्कृष्ट बनाएको बताए ।

म्याराडोनाका साथी अर्बिसले म्याराडोनाको जीवनको शुरुवात निकै कठिनपूर्ण रहेको बताए । उनको बाल्यकाल आम बालबालिकाको जस्तो थिएन र किशोरावस्था पनि सामान्य थिएन । ‘मानिसहरु पोर्चुगलका स्ट्राइकर रोनाल्डो वा अर्जेन्टिनाका फरवार्ड मेसीलाई मनपराउछन् । तर उनीहरु म्याराडोनाको जस्तो प्रतिष्ठा सपनामा पनि पाउन सक्दैनन् । म्याराडोनाको चमत्कार सदाबहार छ’, उनले भनेका छन् ।

सञ्चारमाध्यमका अनुसार म्याराडोनाको शवलाई पोस्टमार्टम गर्न बाँकी छ । स्थानीय समयको हिसाबले उनको निधन बुधबार दिउँसो ब्यूनस आयर्सको टाइगर सहरस्थित उनको घरमा भएको थियो । म्याराडोनाको यसै महिनाको शुरुवातमा मस्तिष्कबाट ब्लड क्लट निकालिएको थियो । यसका साथै मदिराको लतबाट छुटाउनका लागि उपचार भइरहेको थियो । बुधबारको च्याम्पियन्स लिगको खेलमा म्याराडोनाको सम्मानका लागि एक मिनेट मौन धारण गरिएको थियो । यो हप्ता यूरोपियन फिक्सर्समा पनि एक मिनेटको मौन धारण राखिनेछ ।

प्रतिक्रिया