

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँडले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
सोमबार गृहमन्त्री खाँडले परराष्ट्र मन्त्रालय, पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रालयमै बोलाएर उक्त निर्देशन दिएका हुन् ।
यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्कोे बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धारको पहल गर्ने निर्णय गरेको छ।
बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक ढङ्गले काम गर्न निर्देशन दिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज सामाजिक सञ्जालमार्फत अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र आवश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको जानकारी दिएका थिए ।
उनले सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको भन्दै सजकता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने विश्वास दिलालाएका छन् ।
अफगानिस्तानको विकसित घटनाका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उनीहरुको उद्धार गर्न सरकारले शनिबार एक कार्यदल गठन गरेर काम अघि बढाइसकेको छ । परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखहरु एवं अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सोसरहका सदस्य रहने गरी कार्यदल गठन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

