कोशी करिडोर २२० केभी प्रसारणलाइनको पहिलो खण्ड सकियो


काठमाडौं – कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्डको काम सकिएको छ। सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १ सय ६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। प्रसारण लाइनका लागि ३ सय २६ वटा टावर निर्माण गरिएको छ।

प्रसारण्ण लाइन निर्माणसँगै करिब २ हजार मेगावाट जलविद्युत क्षमताका आयोजनाहरुको विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको विद्युत प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण सम्पन्न भएका लाइनलाई मंगलबारबाट ३३ केभी क्षमतामा सञ्चालन (चार्ज) गरिने जानकारी दिए।

‘इनरुवामा २२० केभीको सबस्टेसको निर्माण पूरा नहुन्जेल लाइनलाई अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत प्रवाह गरिने छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट बर्खाको समयमा त्यस क्षेत्रका आयोजनले बेहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान हुने छ।’

संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइने घिसिङको भनाइ छ। तिरतिरे–बसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाहरु बर्खाको समयमा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन्। आयोजनाहरुको जडित क्षमता करिब ३३ मेगावाट छ।

संखुवाभाको तुम्लिङटार तथा बानेश्वर र तेह्रथुमको बसन्तपुरमा गरी ३ वटा सबस्टेसनको निर्माण गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए। ‘निर्माण चरणमा विभिन्न अवरोधहरु छिचोल्दै निरन्तरको प्रयासबाट सबैको साथ र सहयोगमा काम सक्न सफल भएका छौं,’ उनले भने, ‘निर्माणाधीन अन्य प्रसारण लाइन आयोजनाको तुलनामा ठूलो र लामो लाइन छिट्टो निर्माण सम्पन्न भएर रेकर्ड पनि कायम भएको छ।’

नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो। प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ। ती आयोजना निर्माणको विभिन्न चरणमा छन्।

करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो। यसको अनुमानित लागत ३ करोड ७५ लाख अमेरिकी डलर छ। दोस्रो प्याकेजमा इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सब स्टेसन निर्माण गरिएको छ। यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर छ।

तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) ३५ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ। १ सय ३२ वटा टावर निर्माण गर्नु पर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

 

प्रतिक्रिया