अफगानिस्तानको काबुलस्थित विमानस्थलमा चल्यो गोली, सबै उडान रद्द


काठमाडौँ – अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । अफगानिस्तान छोड्नको लागि विमानस्थलमा मानिसहरूको भिड रहेको अवस्थामा अमेरिकी सेनाले गाली चलाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ ।

तालिबानले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेका विदेशी मुलुकहरूका नागरिकहरुले स्वदेश फिर्ता हुने क्रममा विमानस्थलमा बढिरहेको भिडका बीच अमेरिकी सेनाले गोली चलाउँदा उडान पनि रद्द गरिएको बताइएको छ ।

गोली चलेसँगै सैन्यबाहेकका सबै उडान रद्द गरिएको डेलिमेलले उल्लेख गरेको छ । विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ । साथै अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।

हजारौँको सङ्ख्यामा अफगानी नागरिकहरू पनि देश छोड्न विमानस्थल पुगेको बताइएको छ ।

नेटोका एक अधिकारीका अनुसार विमानस्थलमा गोली चलेसँगै सबै उडान रद्द गरिएका छन् । उडान सञ्चालनका लागि नेटोले पहल गरिरहेको छ । विमानभित्र बसेकाहरूलाई पनि बाहिर निकालिएको बताइएको छ ।

प्रतिक्रिया