एन्फाकाे नयाँ शाेरुम दरबारमार्गमा सञ्चालन


काठमाडाैं – राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक संस्था केटीएम सिटीले एन्फा शाेरुम दरबारमार्गमा सञ्चालनमा ल्याएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंहले आज आइतवार एन्फा शाेरुमको उद्घाटन गरेका हुन् ।

शाेरुममा राष्ट्रिय फुटबल टाेलीकाे आधिकारिक जर्सी तथा खेल सामग्री व्यापारिक प्रयोजनका लागि राखिएको छ । पहिलो पटक खुला प्रतिस्पर्धाबाट आह्वान गरिएको टेन्डरमा केटीएम सिटीले सर्वाधिक रकम बोलकबोल गर्दै तीन वर्षका लागि राष्ट्रिय फुटबल टाेलीकाे जर्सी र खेल सामग्रीको आधिकारिक प्रायोजक गर्ने सम्झौता गरेको थियो ।

सम्झौतापछि केटीएम सिटीले पहिलो पटक एन्फा शाेरुम सञ्चालनमा ल्याएको हो । उद्घाटनपछि एन्फा अध्यक्ष शेर्पाले केटीएम सिटीसँगको सहकार्यले फुटबल व्यावसायिक हिसाबमा अगाडि बढ्ने बताए । केटीएम सिटीका प्रबन्ध निर्देशक निमा नोर्बु लामाले नेपाली ब्रान्ड राष्ट्रिय फुटबल टाेलीकाे मुख्य प्रायोजक बन्न पाउनु र शाेरुम सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

केटीएम सिटीले राष्ट्रिय फुटबल टाेलीकाे स्पोर्ट्स किट्सका साथै शहीद स्मारक ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबलाई मुख्य प्रायोजकका रूपमा सहकार्य गरिसकेको छ ।

प्रतिक्रिया