

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित स्वदेश फर्काउन अध्यक्ष थापाको माग

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सुरक्षित ढङ्गले स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।
आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षितरुपमा नेपाल फर्काउने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
‘तालिबानी विद्रोहीको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरूको सुरक्षाबारे राप्रपा चिन्तित रहेको छ । तसर्थ अफगानिस्तानमा रहेका नेपालीहरूलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै राप्रपाले बेलायती सेनामा काम गर्ने नेपालीहरूमाथि भेदभाव र असमानता कायमै रहेकाले यसको अन्त्य गर्न पनि बेलायत सरकारसँग गरेको छ । ब्रिटिस सेनाका भूतपूर्व सैनिकहरूले उठाउँदै आएका मागप्रति ऐक्यबद्धता जनाउँदै राप्रपाले उनीहरूका माग पूरा गर्न बेलायत सरकारसँग आग्रह गरेको हो । त्यसका लागि कूटनीतिक प्रयास गर्न राप्रपाले नेपाल सरकारको पनि ध्यानाकर्षण गराएको छ ।

