
काबुलको सडकमा तालिबानी लडाकु, राजधानी छाड्दै सर्वसाधारण
अफगानिस्तान — अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुल छिर्न सुरु गरेका विवरणहरू प्राप्त हुन थालेका छन्।
समाचारसंस्था रोएटर्सले आन्तरिक मामिलामन्त्रीलाई उद्धृत गर्दै जनाएअनुसार लडाकुहरू राजधानीको सबैतिरबाट छिर्न थालेका हुन्।
तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कुन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको दोहास्थित एक नेतालाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ।
उनले सुरक्षा दिइएका क्षेत्रतर्फ जान महिलाहरूलाई आग्रह समेत गरेका छन्।
आइतवार बिहान मात्रै लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष नियन्त्रणमा लिएका थिए।
बीबीसीकी याल्दा हकिमका अनुसार काबुल छिर्ने क्रममा तालिबान लडाकुहरूले ठूला प्रतिरोधको सामना गरिरहनुपरेको छैन।
तर अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको छ। राष्ट्रपतिको कार्यालयले पास्तो भाषामा ट्विटरमा लेखेको छः ‘काबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन। सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरू विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ।’
तर एक अफगान सांसद फर्जाना कोचाईले बीबीसीलाई मानिसहरू राजधानीबाट भाग्न कति आतुर छन् भनेर बताएकी छन्।
‘मलाई थाहा छैन, उनीहरू कहीँ पनि जान सक्दैनन्। कुनै ठाउँ बाँकी छैन। विमानहरू भरिएका हुनसक्छन् अनि आज काबुलबाहिर — जस्तै भारत वा अन्य छिमेकी मुलुक जाने — उडान पनि। मैले त्यता जान लागेका साथीहरूसँग सोधेकी थिएँ।’
‘उनीहरूका अनुसार विमान भरिएका र आफूहरू अड्किएका छन्,’ उनले भनिन्।



कागजपत्र |
