ओली एकताको पक्षमा नआए पार्टी पुनर्गठन हुन्छ : माधव नेपाल


काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताको पक्षमा नआए पार्टी पुनर्गठन गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित आफू निकट बागमती प्रदेश सम्पर्क संगठन कमिटीको कार्यक्रममा उनले ओली एकताको पक्षमा नआए पार्टी पुनर्गठन गर्ने बताएका हुन् ।

पार्टी एकताका लागि आफूहरू अन्तिम पखाइमा रहेको बताएउँदै उनले भने एकताका सबै ढोकाहरू बन्द भए पार्टीलाई पुनर्गठन गर्ने जिम्मेवारीबाट पछि हट्दैनौं’

नेता माधवकुमार नेपालले अध्यक्ष ओलीको अत्याचार सहने स्थिति नभएको भन्दै ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको आरोप लगाए । उनले आफूहरू लुरुक्क परेर जाने स्थिति नभएको स्पष्ट पारे ।

एमाले एकता र विभाजनको दोबाटोमा पुगेको नेता नेपालको भनाइ थियो । अध्यक्ष ओलीले एकपछि अर्को एकलौटी काम गरिरहेकाले पार्टी एकताको आधार कमजोर हुँदै गएको उनको भनाइ छ । पार्टीको विधान संशोधन गर्ने भनेपछि पार्टी एकताको कुरा गर्नेहरू पनि छ्याङ्ग भएको टिप्पणी गर्दै नेता नेपालले अध्यक्ष ओलीले एमालेको विभाजन चाहेको जिकिर गरे ।

नेता नेपालले आफूहरूले ओलीलाई पार्टीको विधिमा बाँध्न खोज्दा, सरकारको काम राम्रोसँग गर्नुहोस् भनेर सुझाव दिँदा घेराबन्दीको अर्थमा बुझेको बताए । नेता नेपालले पार्टी एकताका लागि आफूहरूले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको भन्दै लोकतन्त्रको रक्षाका लागि आफूहरुले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वास मत दिनु परेको पनि बताए ।

प्रतिक्रिया