कोरोनाको कहरका बिच ठमेलमा चारतारे होटल सञ्चालन


काठमाडौँ – राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा कोरोनाको कहरका बिच रु दुई अर्ब ५० करोड लगानीमा चार तारे होटल सञ्चालनमा आएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना सङ्क्रमण बढिरहेको बेलामा डालिया इन्भेस्टमेन्ट कम्पनी र गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए० को लगानीमा ‘रमदा इन्कोर बाई वाईनहेम काठमाडौँ’ सञ्चालनमा आएको हो । उक्त होटल अमेरिकाको रमदा इन्कोरको पहिलो नेपाली चेन होटल हो । उक्त चार तारे होटल नेपाल भ्रमण वर्ष २०२० को शुरुआत्मा सञ्चालनमा ल्याउने गरी तयारी थालिए पनि कोरोनाका कारण एक वर्ष ढिला गरी सञ्चालनमा आएको हो ।

मध्यम वर्गदेखि उच्च घरानियाँ वर्गलाई लक्षित गरी सञ्चालनमा आएको उक्त होटल विश्वमा नौ हजार २०० भन्दा बढी रहेका छन् । रमदा इन्कोरको भारतमा ५२ र चीनमा एक हजार ४०० भन्दा बढी चेन होटल छन् । विश्वका ८० देशमा रमदा इन्कोर बाई वाईनहेमका तीनतारेदेखि पाँचतारे होटल सञ्चालनमा रहेका छन् । नेपाल घुम्न आउने ८० प्रतिशत विदेशी पर्यटक ठमेल घुम्न जाने गरेका छन् ।

होटलका सञ्चालक एवं डालिया इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष गोपाल पङ्गेनी भर्खरै सञ्चालनमा आएको रमदा होटल ठमेलमा अन्तर्राष्ट्रिय ब्रान्डको चेन होटल भएको बताउँछन् । ‘अहिले ठमेलमा सञ्चालनमा आएको रमदा होटल चाँडै नै चितवनको सौराहामा सञ्चालन गर्दै छौँ”, पङ्गेनी भन्छन् । काठमाडौँ महानगरपालिका–१६ ठमेलमा ९० कोठा रहेको उक्त नौ तले होटेलभित्र दुई वटा रेस्टुराँ, स्पा, स्विमिङ पुल, जिम हल र दुई वटा कन्फरेन्स हल रहेका छन् । होटलको छतबाट काठमाडौँ उपत्यकाको रमणीय वातावरण देख्न सकिन्छ ।

होटलका महाप्रबन्धक महेश फुयाँल रमदा होटलले दुई वटा रेस्टुराँमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आफ्नो रुचिअनुसारको खानेकुरा प्रदान गर्दै आएको बताउँछन् । ‘एउटा रेस्टुराँमार्फत स्पेनिस, अरविक, टर्किस, मोरक्कन र अर्को रेस्टुराँमार्फत पानेशियन र इन्डियनलगायतका खाना प्रदान गरेका छौँ’, उनी भन्छन् ।

रमदा होटलले क्याटरिङ र बैंकेट हल थप गरेर चाँडै नै पाँचतारे होटलमा जाने लक्ष्य राखिएको महाप्रबन्धक फुयाँलको भनाइ छ । निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको सङ्ख्या नेपालमा १४३ पुगेको छ । यो मुलुकभर सञ्चालनमा आएका एकतारे देखि पाँचतारे होटलको सङ्ख्या हो । पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसीका अनुसार नेपालमा पाँचतारे १६, चार तारे १९, तीनतारे ३३, दुई तारे ४१ र एकतारे ३४ होटल सञ्चालनमा छन् । यस्तै पाँचतारे होटलस्तरका दुई बुटिक समेत सञ्चालनमा छन् ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोरोना महामारी विश्वभर फैलिँदा नेपालमा भ्रमण वर्षको कार्यक्रम स्थगित गरिएको थियो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको पहिलो तथा दोस्रो चरणको कोरोना सङ्क्रमण देखिँदा नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको छ ।

 

प्रतिक्रिया