

‘मास्क’ अभियान तीव्र, एकैदिन ६५ हजारले पाए मास्क

काठमाडाैं – कोभिड-१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि देशभर नै मास्क वितरण अभियानलाई तीव्रता दिइएको छ।
नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईँको मास्क खोइ ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा मात्रै ६५ हजार ८६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अभियानमा वैशाख ६ यता सात लाख चार हजार ३७६ जनालाई मास्क वितरण गरि सकिएको छ ।
प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सङ्क्रमणबाट ‘आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईँको मास्क खै ?’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई ७७ वटै जिल्लामा अभियानकै रुपमा सञ्चालन गरेको बताए ।
सरकारले पनि सही रुपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न ‘नेपाल मास्क अभियान’ घोषणा गरिसकेको छ ।

