

यसरी ओली पथीय भए प्रधानमन्त्री देउवा

काठमाडौं– ५ औं पटक प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुग्नासाथ कांग्रेस सभापति शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पदचापलाई पछ्याएका छन्।
मन्त्रिपरिषद विस्तार गर्न नसक्दा पार्टीबाट समेत आलोचना खेपीरहेका देउवाले ओलीका केही कानुनलाई आत्मसाथ गरेका छन्। उनले कांग्रेस केन्द्रीय समितिको बैठकमा कालो मास्कलाई प्रतिबन्ध गरी ओली पथ समातेका छन् भने त्यसभन्दा अघि बढेर मोबाइलबाट तस्बिर लिन पनि बन्देज गरेका छन्।
अहिले महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसभित्र केही विवाद छन् र कतिपय कार्यकर्ता विरोध गरी पार्टी कार्यालय सानेपामा धर्नामा छन् भने बैठक भइरहेको बुढानिलकण्ठस्थित देउवा निवासमा पनि प्रदर्शन सुरु भइसकेका छन्।
‘ओलीको विकल्पमा प्रधानमन्त्रीमा विश्वास गरिएका देउवाले यसरी अलोकप्रिय ढंगले साना साना निर्णय गराउनु हुने थिएन’, कांग्रेसका एक जना केन्द्रीय सदस्य भन्छन्,‘हामीले प्रतिगमन र तानाशाही भनी ओलीलाई उनका यस्तै यस्तै कामका कारण भनेका थियौं, देउवा पनि सोही शैलीमा उत्रिए हामीसँग नैतिक प्रश्न अवश्य उठ्नेछन्।’
देउवालाई सरकारमा प्रतिस्थापन गर्नु एउटा सुखद विकल्पका लागि, संविधान र संसदसँगै सरकारी आचरण पनि राम्रो होस् भन्ने रहेको ति केन्द्रीय सदस्यको भनाई छ। तर, अहिले देखाउन थालिएका कतिपय शैलीले देउवाको छविमा मात्र नभएर कांग्रेसलाई नै असर गर्ने प्रकारको रहेको बताइन्छ।
ओलीले विभिन्न सभामा सम्बोधन गर्ने क्रममा कालो मास्कको प्रतिबन्ध लगाएका थिए। त्यसको चर्को आलोचना गर्दै कांग्रेसले तानाशाही र राजा बन्न खोजेको आरोप लगाएको थियो।

