

देउवाको निवास अगाडि कांग्रेस कार्यकर्ताको प्रदर्शन

काठमाडौं – १४ औं महाधिवेशन समयमै गर्नुपर्ने भन्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठअगाडि कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन्।
कांग्रेसमा क्रियाशिल सदस्यता विवादका कारण अन्योलमा परेको १४ औं महाधिवेशन समयमै गर्नुपर्ने भन्दै सबल कांग्रेसका लागि हाम्रो अभियानमा आवद्ध रहेका युवाहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले नेपालको संविधान र पार्टी विधान सभापति देउवालगायत शीर्ष नेतालाई बुझाउने कार्यक्रम छ।
आज देउवा निवासमा कांग्रेसको केन्द्रीय समिति बैठक छ। बैठकमा भाग लिन नेताहरू बूढानिलकण्ठ गइरहेका छन्। देउवा निवास बाहिर कांग्रेस नेताहरूले प्लेकार्ड लिएर प्रदर्शन र कोण सभा गरेका छन्।
समयसीमाभित्रै महाधिवेशन सुनिश्चित गर्न दवाव दिन प्रदर्शन गरिएको नेता रञ्जित कर्णले जानकारी दिए। समायोजनका नाममा क्रियाशील सदस्यताको धाँधली बन्द गर्न पनि उनले माग गरेका छन्।
विधानअनुसार देउवाको कार्यकाल भदौ २३ मा सकिँदैछ। आज देउवा निवासमा बस्ने बैठकले महाधिवेशन सार्ने तयारी गरेकोमा पनि उनीहरूले विरोध गरेका छन्।

